एमाले–माकेबीचको कथित एकता भगौडाहरु बीचको गठजोड मात्रै हो – हस्तबहादुर केसी

२०७५ जेष्ठ २० गते, आईतवार

० नेकपा (एमाले) र नेकपा (माके) बीच पार्टी एकता भएको छ, यस विषयमा तपाईंको धारणा के छ ?
पहिलो कुरा त साविकको नेकपा (एमाले) र साविकका नेकपा (माओवादी केन्द्र) दुवै कम्युनिष्ट पार्टी होइनन् । उनीहरु दक्षिणपन्थी संशोधनवादी र नवसंशोधनवादी हुँदै प्रतिक्रियावादीमा परिणत भइसकेका प्रतिक्रान्तिकारी शक्ति हुन । उनीहरु कम्युनिष्ट नभएर कम्युनिष्ट पार्टीको खोल ओढेका नक्कली कम्युनिष्ट हुन । साँचो अर्थमा भन्ने हो भने भूपू एमाले र भूपू माके कम्युनिष्ट नै होइनन् । उनीहरु माक्र्सवाद–लेनिनवाद–माओवादका आधारभूत सिद्धान्तहरुबाट च्यूत भइसकेका र माक्र्सवादलाई भ्रष्टरीकरण गरेर खाने चरम अवसरवादी शक्ति हुन् । यिनीहरुलाई कम्युनिष्ट भएको देख्न र भन्न गलत हुन्छ । भूपू एमाले र भूपू माके सोभियत संघको विघटन पश्चात पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरु जुन सोसल डेमोक्रेटिक पार्टीका रुपमा परिणत भएका थिए हो त्यस्तै गरी एमाले र माके सोसल डेमोक्रेटिक पार्टीमा परिणत भइसकेका बुर्जुवा पार्टीहरु हुन् । त्यसो भएकाले यी दुवै पार्टी बीचको एकता नभएर दुवै एउटै विचारमा कित्ताकरण हुन पुगेपछि अलग अलग पार्टीका रुपमा पार्टी संचालन गर्न आवश्यकता नै थिएन र दुवै पार्टी एउटै पार्टीमा आबद्ध हुन अनिवार्य भइसकेको थियो । यसकारणले यहाँ नेर बुझ्नै पर्ने कुरा के हो भने एमाले र माकेका बीचमा पार्टी एकता नभएर माकेको एमालेमा विलय हो ।
यसलाई पार्टी एकता भन्न मिल्दैन । किन भने कम्युनिष्ट पार्टीहरुमा एकताका लागि त सिद्धान्त, विचार, दर्शन, राजनीति, रणनीति, कार्यनीति, कार्यक्रम आदि कुराहरु आवश्यक सर्तका रुपमा लिइन्छ । तर ती दुवै पार्टी सिद्धान्त र विचारबाट च्यूत भइसकेका हुनाले सत्ता स्वार्थका निम्ती गरिएको गठजोड मात्रै हो । अर्को शब्दमा भन्नु पर्दा एमाले–माके बीचको कथित एकता ऐतिहासिक झापा विद्रोह र महान् दश वर्षे जनयुद्धका वीरासतहरु र उपलब्धिहरुको भारी बोक्न नसकेर झापा विद्रोह र दश वर्षे जनयुद्धबाट भागेका भगौडाहरु बीचको गठजोड मात्रै हो ।
जहाँसम्म अण्डरलाइन नेकपालाई संसारकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी र दक्षिण एशीयाकै पहिलो कम्युनिष्ट पार्टी भएको भन्ने कुरा छ, यसमा पहिलो नम्बरमा अण्डरलाइन नेकपा कम्युनिष्ट पार्टी नै होइन, बुर्जुबा सोसल डेमोक्रेटिक पार्टी हो । दोस्रो नम्बरमा यो पार्टी भन्दा कैयौं देशहरुमा सैयौं गुणा ठूला बुर्जुवा पार्टीहरु छन् भने दक्षिण एशीयामा भारत, बंगलादेश, पाकिस्तानमा नै अन्डर लाइन नेकपा भन्दा कैयौं ठूलो बुर्जुवा पार्टीहरु छन् । त्यस कारण यी सबै प्रचारहरु बेकारका हल्ला मात्र हुन् । यसलाई यसरी नै बुझ्नुपर्ने हुन्छ ।
० एमाले–माके बीचको एकताले नेपाली कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारेको र नेपाली क्रान्तिप्रति गंभीर प्रकारको धोका र गद्दारी भएको विश्लेषण गरिएको पाइएको छ । यस विषयमा के भन्नु हुन्छ ?
कम्युनिष्ट त के वामपन्थीसम्मको दायराभित्रबाट च्यूत भइसकेका, कम्युनिष्ट पार्टीको खोल ओढेका नामधारी तथा नक्कली कम्युनिष्टहरुको रुपमा नेपाली धर्तीमा सुपरिचित रहेका एमाले–माकेले कथित पार्टी एकताको नाटक मञ्चन गर्दै एउटा ऐतिहासिक परिघटना भएको र यसले विश्वलाई नै चकित तुल्याई दिएको हल्ला गर्न पछि परेका छैनन् । भूपू माकेका अध्यक्ष पुष्पकमल दाहालले त ‘एमाले–माके बीचको एकताले दश वर्षे जनयुद्धले भन्दा दशौं गुणा ठूलो हलचल पैदा गरेर सिंगो पृथ्वीलाई नै हल्लाउने परिघटना हो’ यो भनेर ठूलो स्वरले कुर्लेका थिए ।
यी हल्लाहरु र कुप्रचारवाजीलाई हामीले कसरी बुझ्नु पर्दछ भने नेपाली जनता कम्युनिष्टका पक्षधर भएकाले आफूहरु कम्युनिष्ट नै भएको ढ्वाङ पिटेर एकातिर नेपाली जनतालाई उल्लु सावित गराउने र अर्कोतिर त्यसैबाट लाभ लिएर आफ्नो स्वार्थपूर्ति गर्ने चालबाजी र षडयन्त्रमात्र हो । यो कुरा हामीले व्यवहारमा देखिसकेका छौँ ।
अर्को कुरा वामतालमेलका नाममा नेपाली जनतालाई झुक्याएर सरकार गठनका लागि झण्डै दुईतिहाई बहुमत ल्याएर बहुमतको सरकार पनि निर्माण गरेका छन् । केन्द्रीय सरकार र प्रदेश सभाहरु जताततै बहुमत हासिल गरेर बहुमतका सरकारहरु चलाई राखेका छन् । यसको केही महत्व छैन । किनभने अण्डरलाइन नेकपाले बहुमतको सरकार चलाउनु र नेपाली कांग्रेसले बहुमतको सरकार चलाउनु एउटै कुरा हो । किन भने वर्तमान अवस्थामा नेपाली कांग्रेस हाम्रो देशको दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्तवर्गको राजनीतिक नेतृत्व गर्ने शक्ति हो भने अण्डरलाईन नेकपा त्यही दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र सामन्त वर्गको संरक्षण गर्ने उद्देश्यले प्रतिक्रियावादी सरकारको नेतृत्व गरिरहेको शक्ति हो । नेपाली कांग्रेसले चलाउने गरेका सरकारहरु र विगतमा एमाले–माकेले र हाल अण्डरलाइन नेकपाले चलाउने गरेको सरकारमा कहाँनेर भिन्नता छ र । भरखरै यो सरकारले आफ्नो नीति र कार्यक्रम पारित ग¥यो । आर्थिक वर्ष २०७५।२०७६ को बजेट पनि संसदमा प्रस्तुत ग¥यो । त्यसको समग्र विषयमा हेर्ने हो भने २०४८ सालमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सरकारको नीति र कार्यक्रम र बजेटमा केही फरक छैन । फरक केही लेखाइमा, शब्द र शैलीमा फरक होला, केही डाटाहरुमा फरक होला, बाँकी २०४८ सालमा नेपाली कांग्रेसले प्रस्तुत गरेको नीति र कार्यक्रम र बजेटमा केही फरक छैन । तपाईले हेर्नु भएकै छ, शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, यातायातको क्षेत्रमा, कृषि र विज्ञान तथा प्रविधिको क्षेत्रमा, उद्योग र व्यापारको क्षेत्रमा, रोजगारीको सृजना गर्ने र आम नेपाली जनताको आधारभूत आवश्यकताको रुपमा रहेका गाँस, वाँस र कपासको क्षेत्रमा २०४८ सालमा नेपाली कांग्रेसले ल्याएको सरकारको नीति र कार्यक्रम बजेटमा के अन्तर छ र । अतः अण्डरलाइन नेकपाले दुई तिहाइको सरकार चलाउनु भनेको ‘कागलाई बेल पाक्नु हर्ष न बिष्मात’ भने जस्तै हो । केही फरक छैन ।
हिजो मुख्यतः सिंहदरबारबाट भ्रष्टाचार हुने गथ्र्यो । अहिले सिंहदरबारलाई गाउँगाउँमा पु¥याइएको छ । फरक पत्ति मात्रै हो । अब भ्रष्टाचार केन्द्रहरु गाउँहरु बन्न पुगेका छन् । यो सरकार, तस्कर, कमिशनरखोर, कालाबजारीया, भ्रष्टाचारीहरुको नाइके र संरक्षक सरकार हो । हेर्नु हुन्न ३३ किलो सुन तस्करीमा नेपाल प्रहरीको माथिल्लो निकाय सबै संलग्न भएको रहेछ । यो त प्रमाण मात्र हो । यस प्रकारका सैयौं गुणा ठूला अपराधहरु सरकारको संरक्षणमा हुँदा रहेछन् भन्दै आएको प्रमाणित भएको छ । यो सरकार दलाल सरकार मात्र होइन, प्रतिक्रियावादी सरकार हो भन्ने कुरा यी घटनाक्रमहरुले पुष्टि गरिरहेका छन् ।
० ओली नेतृत्वको सरकारलाई कसरी हेर्नु भएको छ ?
के.पी. शर्मा ओलीले नेतृत्व गरेको यो सरकार पहिलो नम्बरमा भारतीय विस्तारवादको कठपुतली सरकार हो र दोस्रो नम्बरमा नेपालका दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्गको संरक्षण गर्न बनेको दलाल सरकार हो । कम्युनिष्टहरुको दुईतिहाई मत प्राप्त जुन कम्युनिष्ट सरकार हो भनेर भ्रम सिर्जना छ, यो गलत कुरा हो । यसमा नेपाली जनतालाई भ्रममा पारिएको छ विस्तारै जनताले बुझ्दै जानेछन् ।
० प्रसंग बदलौं, एमाले–माकेले एकता गरेर इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी निर्माण गरेको भ्रमहरु बाढी रहेका छन् भने क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु विभाजित हुन् । तपाईंको पार्टी क्रान्तिकारी माओवादी, विप्लवले नेतृत्व गरेको नेकपा, ऋषि कट्टेलले नेतृत्व गरेको नेकपासँग तपाईंहरुले पार्टी एकता गर्ने भन्ने प्रचारमा आएको थियो । अहिले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रयास कहाँसम्म पुगेको छ ?
हामीले विचारसित सहमत हुन सक्ने क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुसीत पार्टी एकता गर्ने र अन्य देशभर छरिएर बसेका कम्युनिष्ट क्रान्तिकारी पार्टी, समुह र व्यक्तिहरुलाई पनि क्रान्तिकारी ध्रुवीकरणको प्रक्रियाबाट अगाडि बढेर सबै क्रान्तिकारीहरुलाई गोलबन्द गर्दै विशाल क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने निर्णय गर्दै आएका छौं ।
असोजको अन्तिम साता पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट हामीले कमरेड विप्लवले नेतृत्व गरेको नेकपा, कमरेड ऋषि कट्टेलले नेतृत्व गरेको नेकपा र नेकपा (मसाल) का बीचमा पार्टी एकताका लागि छलफल, बहस चलाउने निर्णय गरेका थियौं । पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव पनि पहिले नै पठाई सकेका थियौं । त्यसकै आधारमा ती छलफल र बहसलाई अगाडि बढाउदै ल्याएका छौं । हामीले माथिल्लो स्तरमा पार्टी एकताका लागि छलफल र बहसलाई आधारिक रुपमा मूर्तरुप दिनका लागि वार्ता टोली पनि गठन गरेका छौं ।
अहिले पनि विप्लवले नेतृत्व गरेको नेकपा, ऋषि कट्टेलले नेतृत्व गरेको नेकपा लगायतका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुका बीचमा एकताको लागि छलफल चलिरहेको छ । यसलाई दुवै पक्षले घनिभूत रुपमा छलफललाई अगाडि बढाउन जरुरी छ । यस अतिरिक्त अन्य क्रान्तिकारीहरुसँग एकता र धु्रवीकरणलाई घनिभूत रुपमा अगाडि बढाउन जरुरी छ । यो नै आजको वस्तुगत आवश्यकता हो ।
० नेकपा (क्रान्तिकारी माओवादी) किन ‘कुइरो भित्रको काग’ झै कता कता हराइरहेको जस्तो देखिन्छ, के कारणले पार्टी अलमलमा परिरहेको छ ?
हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) ले कमरेड मोहन वैध किरण जस्तो महान् नेपाली क्रान्तिप्रति निष्ठावाण, इमान्दार र दर्शन, सिद्धान्त र क्रान्तिकारी विचारले युक्त व्यक्तिले नेतृत्व गर्ने अत्यन्तै महत्वपूर्ण अवसर प्राप्त गर्दै आएको छ । तपाइले पार्टी अल्मलमा पर्दै आएको, ‘कुइरो भित्रको काग’ झै कतै हराइरहेको भन्ने जुन आसय व्यक्त गर्नु भयो । यस विषयमा के हो भने हामीसँग क्रान्तिकारी विचार छ, क्रान्तिकारी पार्टी पनि छ, क्रान्तिकारी कार्यदिशा र कार्यक्रम पनि छ । हामीले वर्तमान नेपाली समाजको वर्ग विश्लेषण पनि वैज्ञानिक ढंगले ठोस गरिसकेका छौं । फौजी कार्यदिशा पनि पारित गरिसकेका छौँ । यति भएर पनि तपार्इंले भने जस्तै हाम्रो पार्टीभित्र केही सिमाहरु पनि छन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी पुनगर्ठन गरेयताको पाँच वर्षको अवधि पार्टीले सोचे बमोजिम क्रान्तिको कामलाई अगाडि बढाउन नसक्नुमा दुई–दुई पटक पार्टी फूटको शिकार बन्न पुग्यो पछिल्लो फूटमा पार्टी भित्रको चरम अवसरवादीहरुको ठूलो भीड दक्षिणपन्थी हावा हुरी चलाउदै तत्कालीन नेकपा (माके) मा विलप हुन पुग्यो । यसले पनि पार्टीलाई ठूलै क्षति नै पु¥यायो । हुन त त्यस बीचमा क्रान्तिकारीहरुका बीचमा पार्टी एकता पनि भयो । क्रान्तिकारी ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर रुपमा चल्दै आएको छ ।
हाम्रो अर्को सिमा भनेको हामीले आम पार्टी पंक्तिलाई व्यवस्थित रुपमा स्कुलिङ गर्न नसक्नु, आम कार्यकर्ताहरुलाई पार्टीले अंगिकार गरेका नीति, विचार, सिद्धान्त, कार्यदिशा, कार्यक्रम, दर्शन लगायतका विषयमा जुन केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट विभिन्न तहको कोर्ष समेत बनाएर देशव्यापी रुपमा स्कुलिङ चलाउने सोंच र योजना बनाएका थियौ, त्यसमा पार्टी विभाजन र एकताका प्रक्रियाले पनि केही असर पा¥यो नै । आन्तरिक रुपमा हामीले पार्टी स्कुलिङ सञ्चालन गर्ने र सबै तहका नेता तथा कार्यकर्ताहरुको वैचारिक स्तरको विकास गर्न नसकेकै कारण पार्टी भित्र अवसरवादीहरु पैदा हुन र उनीहरुले कार्यकर्ताहरुलाई पनि लपटेर लै जाने समस्यालाई हामीले रोक्न सकेनौं । यसले पनि पार्टीलाई कमजोर पार्ने काम ग¥यो नै । मुख्य रुपमा लामो समयसम्म पार्टी भित्र ‘प्रचण्ड प्रवृत्ति’ कायम रहन पुग्यो । यसले पार्टी भित्र फूट पैदा गर्ने, पार्टी पंक्तिलाई कमजोर पार्ने प्रयत्न गर्ने र क्रान्तिको तयारी गर्ने बाटोमा बाधा व्यवधान खडा गर्ने काम गर्दै आयो हेर्नुहोस् । तर गत असोजमा पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट हामीले पार्टीलाई वैचारिक सैद्धान्तिक रुपमा लैस गर्ने, नेतृत्वलाई चुस्त दुरुस्त र क्रान्तिकारी बनाउने काममा सफलता हासिल गरेर अगाडि बढिरहेका छौं ।
गत माघ महिना देखि शुरु गरेको राष्ट्रिय अभियान यही महिनाको अन्तिममा पु¥याएर टुंग्याउदै छौं । अभियानका विषयहरु विशेष गरि पार्टी संगठन, मोर्चा संगठन, जनवर्गी संगठनका भेला, बैठकको आयोजना गर्ने, पार्टीका विभिन्न स्तरका कमिटीहरुको भेला–सम्मेलन सम्पन्न गर्ने योजनाहरु थिए, ती देशव्यापी रुपमा आ–आफ्नो विशेषतामा पुरा गर्ने कार्य भइरहेका छन् ।
हामीले फौजी कार्यदिशा पनि पारित गरिसकेका हुनाले यसलाई कार्यान्वयनमा ल्याउनका लागि युवाहरुको (जुझारु संगठनहरु बनाउनु पर्ने थियो, त्यस अन्तर्गत यही अभियान कै बीचमा गत फाल्गुनको अन्तिम तीरबाट मकवानपुरबाट क्रान्तिकारी युवा लिग नेपालको प्रदेश नं. ३ को युवा जागरण तथा प्रशिक्षण शुरु गरेर प्रदेश नं. २, १ र ५ नम्बर प्रदेशका युवाहरुका बीचमा वैचारिक प्रशिक्षण र शारीरिक व्यायामका कार्यक्रमहरु उत्साहपूर्ण ढंगले सम्पन्न गरेका छौं । यस कार्यले आम क्रान्तिकारी युवाहरुका बीचमा एक प्रकारको क्रान्तिकारी जोस, जागर र तरंग पैदा गरेको छु र देशव्यापी रुपमा ठूलो प्रभाव पारेकोे छ ।
हेर्नुहोस् हामीले क्रान्तिका सपनाहरुलाई मर्न नदिने, महाने नेपाली क्रान्तिको झण्डालाई ढल्न नदिने, क्रान्ति सम्पन्न गर्नका निम्ति सम्पूर्ण क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध तुल्याएर अगाडि बढ्ने वचनबद्धता र अठोट गरिएका छौं । क्रान्तिप्रति गद्दारी नगर्ने वचन दिइसकेका छौँ ।
क्रान्तिप्रति आशावादलाई जीवन्त तुल्याउनको आम पार्टी पंक्ति, क्रान्तिकारी शक्तिहरु र मुक्तिकामी जनताका बीचमा उत्पन्न हुन सक्ने निरासा र अन्योलताहरुलाई चिर्न हामीले निकै सफलता हासिल गर्दै अगाडि बढिरहेका छौं । मैले माथि पनि उल्लेख गरिसकेको छु, यद्यपी क्रान्तिको तयारीको निम्ति पार्टीले सोचे जति उपलब्धिहरु हासिल गर्न हामीसित केही सिमाहरु पनि छन् । यो द्वन्द्ववादलाई पनि सबै बुझ्न जरुरी छ भन्ने लाग्दर्छ ।
० सरकारले नेकपाका नेता कार्यकर्ताहरुलाई धरपकड गर्ने झुठा युद्धा लगाउने, यातना दिने जस्ता क्रियाकलापलाई तीव्र रुपमा अगाडी बढाई रहेको छ । यस विषयमा तपाईं र पार्टीको धारणा कस्तो रहेको छ ?
के.पी. शर्मा ओलीले नेतृत्व गरेको अण्डरलाइन नेकपाको दुईतिहाई बहुमत पुगेको सरकारले कमरेड विप्लवले नेतृत्व गरेको नेकपाका देशव्यापी रुपमा थुप्रै नेता कर्ताहरुलाई विनाकारण धरपकड गर्ने, पुर्जी काट्ने, झुठ्ठा मुद्दाहरु लगाउने, यातनागृहहरुमा पु¥याए पुलिसले शारीरिक रुपमा, मौलिकरुपमा र मानसिक रुपमा चरम यातना दिने, अदालतले रिहा गर्ने आदेश दिई सकेपछि पुनः पुलिसले गिरफ्तार गरेर मुद्दा लगाउने जुन सामाजिक फासीवादी क्रियाकलापलाई ओली सरकारले निर्लज्ज ढंगले अगाडि बढाइरहेको छ, यस बारेमा हाम्रो पार्टीको ध्यान आकृष्ट हँुदै आएको छ र नेकपाका नेता कार्यकर्ताहरुलाई यो प्रतिक्रियावादी सरकारले देखाएको रवैया, दमन र धरपकडलाई तत्काल रोक्न हाम्रो पार्टीले विरोध, भण्डाफोर गर्दै आएको छ । पार्टी महासचिव कमरेड किरणले पार्टीको तर्फबाट प्रेस विज्ञप्ती समेत जारी गर्नु सक्नु भएको छ र झुठ्ठा मुद्दाहरु खारेज गर्न र आस्थाको आधारमा जथाभावी धरपकड नगर्न दलाल ओली सरकारलाई चेतावनी समेत दिइसकेको छ । हामीले सामाजिक फासीवादी शैलीमा जनदमनमा उत्रिएको र राष्ट्रघात, जनतन्त्र र जनदमनका विरुद्ध दुवै नेकपा र मसालसँग समेत कार्यगत एकता कायम गरेर अगाडि बढ्ने निर्णय सार्वजनिक गरिसकेका छौं । यी विषयहरुलाई गंभीर भएर कार्यान्वयन गर्न जरुरी छ ।

(नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गरिएको एकताले नेपाली कम्युनिष्ट आन्दोलनमा पारेको प्रभाव, क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच एकताको सवाल र नेपाली क्रान्तिको भविष्यका बारेमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता तथा वरिष्ठ माक्र्सवादी लेखक एवं राजनीतिक विश्लेषक हस्तबहादुर के.सी. सँग क्षप्रयास्त्र राष्ट्रिय साप्ताहिकका प्रतिनिधिले लिएको विशेष अन्तर्वार्ताको सम्पादित अंश– सम्पादक)

प्रतिक्रियाहरु