भारतका पूर्वराष्ट्रपति कलामको निधन

२०७२ श्रावण १२ गते, मंगलवार

काठमाडौं, ११ साउन । भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको सोमबार निधन भएको छ । उनको निधनमा भारतमा सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । एक कार्यक्रममा सम्बोधन गर्दागर्दै ढलेका भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको उपचारकाक्रममा साँझ निधन भएको छ । भारतको सिलोङमा इन्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताका रुपमा उपस्थित उनी बोल्दाबोल्दै बेहोश भएका थिए ।
‘मिसाइल मेन’को नामले चिनिएका ८३ वर्षीय पूर्वराष्ट्रपति कलामको सिलोङस्थित बेथानी अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना गरेलगत्तै निधन भएको हो ।
कलाम सन् २००२ देखि सन् २००७ सम्म भारतको राष्ट्रपति बनेका थिए । सन् १९३१ अक्टुबर १५ मा तमिलनाडुको रामेश्वरम्मा जन्मिएका कलाम भारतका ११ औं राष्ट्रपति बनेका थिए ।
भारतको मिसाइल टेक्नोलोजी निर्माणमा ठूलो योगदान दिएका उनी पोलर स्याटेलाइट लञ्च व्हीकलको पिता मानिन्थे ।आफ्नो पूरा जिन्दगी शिक्षामा समर्पित गरेका कलाम १९९७ मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित भएका थिए । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरुले शोक व्यक्त गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु