कलाकारको प्रतिभा नमरोस : गायिका उप्रेती बुनु शर्मा

२०७१ भाद्र ५ गते, बिहीबार


काठमाडौँ जिल्लामा ०४० सालमा माता लक्ष्मीदेवी उप्रेती र पिता लक्ष्मीप्रसाद उप्रेतीको कोखवाट उप्रेती बुनु शर्माको जन्म भएको हो । काठमाडौँमा जन्मिएकी बुनुले करिव आठ वर्ष काठमाडौँमै विताइन भने ८ बर्ष पछि भने उनी हजुरबुवा हजुरआमाको घर ताप्लेजुङ् जान पर्यो । ताप्लेजुङमा हजुर बुबाको घरमा उहाँहरुसँगै बाल्यकाल विताएकी शर्माले बाल्यकाल हजुरबुबाकैमा विताउन पर्यो । त्यसपछि बुनुको हजुर बुबाहरु झापामा बसाई सर्नु भयो । विभिन्न धार्मिक भर्जन किर्तन गर्ने आफ्ना हजुरबुबा हजुर आमावाट शर्मा संगीतप्रति प्रभावित हुँदै गइन् । बेला बखत हजुरबुबा हजुर आमाले भजन गाउन लाउँदा लाउदै बुनुलाई संगीतमा रुचि बसिसकेको थियो । कक्षा ८ मा अध्ययन गर्दा पहिलो पटक तीजको गीत सार्वजनिक रुपमा गाएकी बुनुले सानै देखि गीत गाउने गर्थिन् । स्कुलमा हुने विभिन्न सार्वजनिक सांस्कृतिक कार्यक्रमहरुमा गीत गाउन पछि नपर्ने उनी भित्र भित्रै नेपाली संगीत क्षेत्र बेगर बाँच्न नसक्ने भएकी थिइन् ।
लामो समय देखि संगीत क्षेत्रमा लागेकी बुनुले आम नेपाली संगीतप्रेमीहरुको लागि जून बैमानी शिर्षकको एल्बम कोशेलीको रुपमा ल्याउने भएकी छिन् । कस्तो माया रैछ तिम्रो बोलको गीत उनको पहिलो रेकर्डिङ भएको गीत हो । भर्खरै बजारमा आउन लागेको जून बैमानी एल्बममा आधुनिक र पप गरी ६ वटा गीत रहेको र सबै गीत आफैँले लेखेको बताउने बुनुले आफूलाई गायनमा मात्र नभई लेखनमा समेत सशक्त रुपमा उतारेकी छिन् । सो एल्वममा चर्चित संगीतकार टिका भण्डारी र नव संगीतकार सुभाष भुषालको संगीत रहेको र एउटा गीतमा सुप्रसिद्व गायिका अञ्जु पन्त र अरुमा आफैँले स्वर दिएको बुनु बताउछिन् ।
नेपाली संगीत क्षेत्रलाई कसरी हेर्नु हुन्छ भन्ने प्रश्नको जवाफमा उनको भनाई थियो— “नेपाली संगीत क्षेत्र मैले धेरै राम्रो देखेको छु । मेरो सम्पूर्ण जिन्दगीलाई संगीत क्षेत्रमै विताउने छु र बाँचुन्जेल नेपाली संगीत क्षेत्रमा लागि रहनेछु ।” नेपाली संगीत क्षेत्र विभिन्न कारणले पछि परेको उनको ठम्याई थियो । नेपाली कलाकार आफैँ सक्षम हुन नसक्नु ,संगीतको विशेष ज्ञान विनानै लहडको भरमा सांगितिक क्षेत्रमा हाम फाल्नु ,गीत संगीतको बजार व्यवस्थापन तथा प्रचार प्रसारमा आम संचारमाध्यमले धेरै पैसा असुल्न खोज्ने प्रवृत्तिले प्रतिभावान तर आर्थिक अभावमा तड्पिएका सर्जकलाई पछि पारेको उनको बुझाई छ । नेपाली संगीत क्षेत्रमा पैसाको हाली मुहाली गर्नेहरुको बोलवाला रहेको र यहाँ बोल्नेको पीठो पनि विक्छ र नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखान चरितार्थ भएकोमा उनको गुनासो छ । जसले पैसाको आडमा जतिपनि पैसाको खोलो बगाएर मिडियामा गीतको प्रचार गर्न सक्छ उसको जतिसुकै नराम्रो सिर्जना भएपनि पैसा र विज्ञापनकै भरमा रातारात चर्चित हुने र पैसा नहुने र मिडियामा विज्ञापन गर्न नपाउने सर्जकहरु जतिसुकै राम्रो गीत भएतापनि पलपल मरेर ओझेलमा पर्न पर्ने प्रवृत्तिको अन्त्य हुन पर्ने कुरामा उनको जोड थियो । तसर्थ सबै गीत संगीतलाई सहज ढंगवाट मिडियामा प्रचार प्रसार गर्न पाउने वातावरणको सिर्जना गर्न पर्ने ,पैसा र विज्ञापनको भरमा गुणस्तरहिन गीतहरुलाई पनि प्रचार प्रसार गर्ने प्रवृतिको समेत अन्त्य गर्न जरुरी ठान्ने बुनुले यस्ता विकृति चाँडै हटाउन पर्ने कुरामा जोड दिइन् ।
राज्यले प्रतिभावान स्रष्टा तथा कलाकारहरुलाई निशुल्क संगीत प्रशिक्षण केन्द्रको स्थापना गरी सबै संगीतप्रेमी हरुलाई निशुल्क संगीत प्रशिक्षण दिन पर्ने ,त्यस प्रशिक्षण प्राप्त कलाकारवाट मात्र गुणात्मक गीत संगीत निस्कने उनको तर्क छ । त्यसरी निस्किएको उत्कृष्ट प्रतिभालाई मिडियाले सम्मानजनक ढंगवाट बाहिर आम दर्शक ,श्रोता सामु लैजान सहयोग गरेको खण्डमा नेपाली संगीत क्षेत्र राम्रो हुनेमा उनी आशावादी छिन् । आर्थिक रुपमा कमजोर देखिएका प्रतिभाहरुको सिर्जनालाई बाहिर ल्याउनका लागि सरकारले उचित सहयोगको कार्यक्रम संचालन गरी त्यस्तो प्रतिभालाई बाहिर प्रस्फुटन गर्न सकेको खण्डमा धेरै प्रतिभाहरुले फूल्न र फल्न पाउने गायिका बुनुको तर्क छ ।

जहाँ र जुनसुकै क्षेत्रमा पनि राम्रा र नराम्रा दुवै पक्ष रहने भन्दै नेपाली संगीत क्षेत्रमा पनि विकृति र विसंगतिको शिकार भएको छ भन्दै उनले त्यस्तो विकृति रोक्न विभिन्न विचारहरु प्रकट गरेकी छिन् । विकृति रोक्ने वारे आफ्नो धारणा राख्दै उनले भनिन् —“ जुन गीत संगीतले विकृति विसंगति ल्याउछ भने त्यस्ता गीत संगीत रेकर्ड गर्न हुँदैन ,गीत रेकर्ड गर्न खोलिएका रेकर्डिङ स्टुडियोहरुले त्यस्तो विकृति भित्र्याउने गीतहरु रेकर्ड गर्न अस्विकार गर्न पर्दछ ,गुणस्तरहिन गीतहरुलाई पैसाको लोभमा परी रकर्ड गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पर्छ ,शव्दमा विकृति छैन भने मात्र रेकर्ड गर्न पर्छ र यदि रोक्दा रोक्दै त्यस्ता गीत रेकर्ड भएका छन् भने आम संचारमाध्यमले त्यसलाई बहिष्कार गर्न पर्दछ ।” त्यति गर्दा गर्दै पनि यदि त्यस्ता गीतहरु बजारमा आउछन् भने त्यस्तो गीत लेख्ने गीतकार ,संगीतकार ,गायक ,रेकर्डिङ स्टुडियो र त्यस्ता गीतलाई प्रचार प्रसार गर्ने मिडियालाई कार्वाही गर्न पर्ने बुनुले बताएकी छिन् ।
पछिल्लो समयमा तीजको गीतमा आएको भड्किलो ,अश्लिल र संस्कारहिन गीतहरुप्रति उनको असन्तुष्टि थियो । यसवारे कडा आपत्ति जनाउदैँ उनी भन्छिन् —“तीजको गीत रमाइलोको लागि हुन पर्छ ,पारिवारिक जमघटमा पनि सबैले साझा रुपमा हेर्न र पचाउन सक्ने खालको हुन पर्छ त्यस्तो गीतले विकृति ल्याउन हुँदैन । दिदिबहिनीले गीत सुन्दै रमाइलो अनुभव गर्न पाउन पर्छ र आफ्नो दुःख पीर व्यथालाई गीत मार्फत भूल्न सक्नु पर्छ ।” र म सम्पूर्ण नेपाली दिदि बहिनीहरुलाई तीजको शुभकामना व्यक्त गर्दछु बुनुले भनिन् ।
राज्यले संगीत तथा कलाकारिताको क्षेत्रमा के गरोस् वा समृद्व नेपालमा समृद्व संगीत बनाउन के गर्न पर्छ भन्ने प्रश्नको उत्तरमा उनको जवाफ यस्तो छ — कलाकारको प्रतिभा र सिर्जना नमरोस् । राज्यले निशुल्क रुपमा संगीत प्रशिक्षणहरुको स्थापना गरी तमाम संगीतप्रेमीहरुलाई संगीतको प्रशिक्षण सर्वसुलभ रुपमा दिन पर्छ ,प्रतिभा भएर पनि आर्थिक अभावको कारणले मरेतुल्य भएका प्रतिभाहरुलाई राज्यले उचित लगानी गरी प्रतिभा र सिर्जनालाई बाहिर ल्याउन सक्ने वातावरणको निर्माण गर्न पर्छ ,प्रचार प्रसारको नाममा मिडियाहरुले लिने शुल्कलाई पूर्ण रुपमा नियन्त्रण गरी नयाँ सुहाउँदो शुल्क राख्न पर्छ ।
अन्त्यमा के भन्न चाहनु हुन्छ भन्ने प्रश्नमा उनले भनिन् —मैले पहिलो कोशेली तथा सौगातको रुपमा पहिलो एल्वम स्वरुप जून बैमानी गीती संग्रह लिएर आउदैँ छु ,यसलाई माया गरिदिनु हुन सम्पूर्ण नेपाली संगीतप्रेमीहरुलाई आग्रह गर्दै मेरा गीतहरु कस्ता छन् सुनेर आवश्यक सुझाव सल्लाह उपलब्ध गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ताकि भोलि आफ्नो कमजोरीहरुलाई सुधार्न सकूँ ।
नेपालमा जन्मिएर नेपाली संगीत क्षेत्रमा रम्न चाहँने तर दुवैलाई कर्म क्षेत्र बनाएकी यी नव गायिका बुनु नेपाली संगीत क्षेत्रलाई अत्याधिक माया गर्छिन् । उनी पराई भूमिमा भए पनि उनको मनमा नेपाली संगीतका धुन गुञ्जिरहेका छन् । नेपाली डाँडा पाखा र पखेरालाई उनी सम्झी रहेकी छिन्् । मूलुक बाहिरै भएपनि नेपाली संगीत क्षेत्रमा उल्लेख्य विकास भएको हेर्न चाहन्छिन् । र उनी आफू बाँचुन्जेल नेपाली संगीत क्षेत्रमा लागेर यसको समृद्विमा लाग्न चाहन्छिन् । नेपाली संगीतप्रति उनले देखाएको समर्पण र लगावलाई हाम्रो पनि सलाम । भविष्यमा अरु पनि सांगितिक कोशेली कुशलतापूर्वक ल्याउन बुनुलाई सफलता मिलोस् ,अझै खारिएका ,निखारिएका र माझिएका गीत संगीतहरु नेपाली संगीत क्षेत्रले पाओस् हाम्रो पनि यही कामना ।
प्रस्तुति — वाई.आर.पौडेल

प्रतिक्रियाहरु