८ दलद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा

२०७६ असार १९ गते, बिहीबार

काठमाडौं, १८ असार । सरकारविरुद्ध ८ कम्युनिस्ट घटक र दलहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ८ ओटा साना दलले वर्तमान सरकारले राष्ट्रवादको आवरणमा राष्ट्रहितविपरीतका काम गरेको र निरंकुशता लाद्न खोजेको भन्दै यही असार २० गतेदेखि आन्दोलन गर्ने बताएका हुन् । नेपाली कांग्रेस बीपी, नेकपा माले, जनसमाजवादी दल, नेपाल समाजवादी कांग्रेस, राष्ट्रिय लोकतान्त्रिक मञ्च, ३३ दलीय मोर्चा, जनमोर्चा नेपाल र जनताको प्रजातान्त्रिक पार्टीलगायतका दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको दिनचर्या ख्यालठट्टा र उट्पट्याङमै बितेको भन्दै उनीहरुले अनावश्यक विदेश भ्रमण गरेको आरोपसमेत लगाएका छन् ।
नागरिकता, गुठी, मिडिया, मानवअधिकारलगायतका विधेयकले सरकार निरंकुशतातर्फ उन्मुख भएको देखाउने भन्दै साना दलहरुले ‘होली वाइन’ सम्मेलन र ‘आइफा अवार्ड’ले सरकार विदेशीको तावेदारीमा लागेको पुष्टि गर्ने बताए । धर्मनिरपेक्षता र लोकतन्त्रविरोधी विधेयकहरु खारेजीको मागसमेत उनीहरुले गरेका छन् ।

प्रतिक्रियाहरु