८० रुपैयाँ विद्युत् महसुल तिर्न २ हजार खर्च

२०७४ भाद्र ३० गते, शुक्रबार

काठमाण्डौ , ३० भदौ । तेह्रथुम जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ । रु ८० विद्युत् महसुल बुझाउन उपभोक्ताको रु दुई हजार खर्च हुने गरेको उनीहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रीय विद्युत् लाइन विस्तार भएको छ । पायक पर्ने स्थानमा विद्युत् महसुल संकलन केन्द्र स्थापना नहुँदा यहाँका उपभोक्ता मारमा परेका हुन् । आठराई र फेदापका उपभोक्ता विद्युत् महसुल बुझाउन सदरमुकाम म्याङ्लुङ बजारमा एक दिनको पैदल यात्रापछि पुग्छन् । म्याङ्लुङ बजारबाट ६ किमीको दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र जिरिखिम्तीमा पुगी महसुल बुझाउने गरेका छन् ।
यस क्षेत्रका उपभोक्तालाई पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना नहुँदा सास्ती र आवश्यकताभन्दा बढी खर्च हुने गरेको फेदाप गाउँपालिकास्थित इसिबुका उपभोक्ता दायासागर भण्डारीले बताए । वर्षात्को समयमा आठराई–फेदाप–म्याङ्लुङ सडकखण्डमा यातायात पनि सन्चालन हुँदैन । भण्डारीले भने, ‘रु ८० विद्युत् महसुल बुझाउन रु दुई हजारभन्दा बढी खर्च हुने गरेको छ ।’
यातायात सन्चालनमा नहुँदा यस क्षेत्रका बासिन्दालाई अझ बढी सास्ती भएको छ । हिउँदको समयमा यातायात सन्चालमा हुँदा म्याङ्लुङ बजार पुग्ने रु ७०० एकोहोरो यातायात खर्च लाग्छ । समयमा महसुल बुझाउन नपुग्दा जरिवानासमेत भोग्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना गर्न माग गरिए पनि कार्यालयले ध्यान नदिएकोे स्थानीयवासीको भनाइ छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार