६०१ सभासद् विरुद्ध ठगीको उजुरी

२०७१ माघ १० गते, शनिबार

काठमाडौ । नेपाली जनतालाई ठगी गरेको भन्दै संविधानसभाका ६ सय १ सभासद् विरुद्ध दाङका एक व्यक्तिले ठगीसम्बन्धी उजुरी गरेका छन् । निर्धारित समय माघ ८ गते नयाँ संविधान जारी नगरी ६ सय १ सभासदले जनतालाई ठगेको भन्दै लमही नगरपालिका वडा नं. ११ का डिल्लीराज खनालले जिल्ला प्रशासन कार्यालय दाङमा ठगीको उजुरी दिएका हुन् ।
इलाका प्रशासन कार्यालय लमहीमार्फ् खनालले जिल्ला प्रशासन कार्यालय घोराही दाङमा फ्याक्स पर्ठाईठगीसम्बन्धी उजुरी दिएका हुन् । माघ ८ गते संविधान दिन्छौं भन्दै तलबभत्ता र चुनावमा ३० अर्बरुपैयाँ सभासदहरुले ठगेको आरोप खनालले लगाएका छन् । उनले ठगी गरिएको उक्त रकम असुल्न प्रशासनमा उजुरी दिएको बताए । ‘माघ ८ मा संविधान ल्याउछौं भनेर भ्रममा पारे । यो अवधिसम्म गरेको खर्चमा मेरो पनि केही लगानी लागेको छ’ खनालले भने, ‘मेरो लगानीसहित देशभरका नागरिकको रुपैयाँ पैसा चुस्ने सभासदहरुलाई कारवाही होस् भनेर यसो गरेको हुँ ।’ सभासदहरुले अझै पनि संविधान बनाउँछौं भन्दै झुक्याउन सक्ने र त्यसको भ्रममा नपर्ने खनालले सबैमा आग्रह गरेका छन् । ‘अब फेरि जेठमा संविधान बनाउछौं । अर्के साल बनाउछौं भन्दै ठग्न सक्छन्’ उनले भने, ‘नेताको विश्वास उठ्यो । खबरदारी गर्न सबै नागरिक जाग्नु पर्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु