५२ मेट्रिकटन फोहर व्यवस्थापन

२०७४ चैत्र ३ गते, शनिबार

काठमाडौं, ३ चैत । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५२ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २५३औं हप्तामा शनिबार थापाथलीस्थित नदी क्षेत्रमा सफाइ गरी २० मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत सामाजिक संस्थाको संस्थागत सहभागिता थियो ।
फाइमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, ललितपुर महानगरपालिका वडा नम्बर–१० का अध्यक्ष लक्ष्मी व्यञ्जनकार, कलाकारद्वय मनोज गजुरेल र राजाराम पौडेल, गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष हंसराज ढकाललगायतको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिकी सन्चालक सदस्य माला खरेलले जानकारी दिइन् ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको वि.सं. २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको हो ।महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख सहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान सुरु भएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१४औं हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सफाइसँगै नदी किनारको बगैंचा पनि गोडमेल गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।वाग्मतीको पानी फोहर भइ छोडिएका बाच्छा पानी खाएर मर्न थालेपछि समाजले धाराको पानीमा नून हालेर खुवाउने अभियानलाई पनि निरन्तरता दिएको छ । यो अभियानमा सहयोग गर्नेको संख्यासमेत बढिरहेको अभियानले जनाएको छ । यसअघि, यस क्षेत्रमा फोहर पानीका कारण हुर्किएका माछा पनि मरेका थिए ।
रुद्रमती सफाइको २०८औं हप्तामा रातोपुल–ज्ञानेश्वरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । शुक्रबार यो सडकमा कालोपत्र गरिएकाले त्यसको धुलो पनि व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।
विष्णुमती सफाइको १७९औं हप्तामा टोखा नगरपालिका–१३ स्थित सिद्धेश्वर क्षेत्रमा सफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइकाक्रममा घरदैलो कार्यक्रमसमेत गरिएको अभियन्ता बिजेन्द्र लामाले जानकारी दिए ।वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५८औं हप्तामा जनचेतनामूलक सफाइ अभियान सन्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताइन् । मीनभवन क्षेत्रको आलोकनगर सफाइको ४९औं हप्तामा शनिबार त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
चक्रपथ सफाइको ४९औं हप्तामा चक्रपथको नयाँबसपार्कदेखि ग्रीनसिटी अस्पतालसम्मको दायाँबायाँ सडक किनारमा सफाइ गरी २१ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ््याउन खनिएको खाल्डो काम सकेर नपुरिँदा फोहर फाल्ने ठाउँ बनेको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । सफाइमा तीनओटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रीनसिटी अस्पताललगायत संस्थाको सहभागिता थियो । चैत १० गते शनिबार ५०औं हप्ताको चक्रपथ सफाइ अभियान बसुन्धरास्थित ग्रीनसिटी अस्पताल परिसरमा गरिने टन्डनले जानकारी दिए । चक्रपथको बाफल खन्डको ३१औं हप्ताको सफाइमा चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले बताए । सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुँयालले ६ महिनासम्म बाफलचोकमा निःशुल्क पिउनेपानी सेवाको उद्घाटन गरे । – रासस

प्रतिक्रियाहरु