५० वर्ष अघिको कथा सानो पर्दामा

२०७४ चैत्र २९ गते, बिहीबार

काठमाण्डौ , २९ चैत । अविरल बग्दछ ईन्द्रावती, मौन आकाश, सहयात्री, कोरस लगायतका हिट टेलिसिरियल बनाएका निर्देशक बद्रि अधिकारीले निर्देशन गरेको टेलिचलचित्र मानव नयाँ बर्षको छेको पारेर बैशाख १ गतेबाट प्रसारणमा आउने भएको छ । सामाजिक कथामा निर्माण गरिएको टेलिचलचित्र मानव जनता टेलिभिजनमा हरेक शनिवार राति ८ः४५ बजे प्रसारणमा आउन लागेको हो ।
मदन पुरस्कार प्राप्त वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको महाकाव्य मानवमा आधारित भएर निर्देशक अधिकारीले मेगा टेलिचित्रका रुपमा मानव निर्माण गरेका हुन् । टेलिचलचित्र मानवलाई जनता टेलिभिजनले नै निर्माण गरेको हो । झण्डै आधा दर्जन फिल्म निर्देशन गरिसकेका बद्रि अधिकारीले मानवलाई सामाजिक भावनामा बनाइएको बताए । उनले अहिलेको परिवर्तित समयमा पनि ग्रामीण भेगमा मात्र नभएर शहरमा समेत अझै छुवाछुत, भेदभाव र जातीय दमनका अवशेष यथावत रहेको दाबी गरे । उनले भने–मानव–मानवबीच विद्यमान उत्पीडनको कथा टेलिश्रृंखला मानवमा रहेको छ । एक मानवले अर्को मानवलाई दिएको मानवीय पीडा माथिको यथार्थ मानव मार्फत देखाएका छौं ।
निर्देशक अधिकारीका अनुसार टेलिश्रृंखला मानवले पाँच दशक अघिको नेपाल र सामाजिक अवस्थालाई चित्रण गरिनेछ । अझै अवशेषमा रहेको पश्चिम नेपालको ग्रामीण भेगको रुढीवादी, छुवाछुतको कथा मानवमा देखाइएको उनले जानकारी दिए ।
आम मानिसहरुको जीवनशैलीमा परिवर्तन आएपनि सोंच भने पुरातन रहेकोले मानव अहिलेको परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको निर्देशक अधिकारीले बताए ।
यस्तै टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाइले पछिल्लो समयमा हाँस्य चलचित्र र व्यापारका नाममा बनाइएका मसलाप्रधान चलचित्र हेरिरहेका दर्शकहरुको लागि मानव फरक स्वाद हुने बताएका छन् । टेलिश्रृंखला मानव आम दर्शककालागि नेपाली सामाजिक ईतिहासको एउटा अध्यायको रुपमा समेत रहने बताए । सामाजिक उत्तरदायित्वबोध गर्दै गुणात्मक र सार्थक टेलिश्रृंखलाको उदाहरण स्वरुप टेलिभिजनकै लगानीमा मानव निर्माण गरिएको महाप्रबन्धक हुमागाइँले बताए ।
५५ भागको टेलिश्रृंखला मानवमा सुशील पोखरेल, अस्मिता बस्नेत, श्याम खड्का, शारदा अधिकारी, लक्ष्मण विक्रम बस्नेत, अञ्जान शर्मा, अर्जुन न्यौपाने, आना देउजा, शिशिर शिवाकोटी, उमा बाँनिया, कमल बोहरा र किशोर कोईराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । मोदनाथ प्रश्रितको महाकाव्यमाथि निर्माण गरिएको मानवको लेखन निर्देशक अधिकारी आफैंले गरेका हुन् भने सागर खड्का र विरेन्द्र भट्टले खिचेका छन् । दीपेन्द्र दोङ तामाङ कार्यकारी निर्माता हुन् । यस्तै प्रमुख सहायक निर्देशक किशोर कोईराला, सम्पादन हरि सिलवाल, संगीत शिलाबहादुर मोक्तान, गीत राजेन्द्र थापा, स्वर दीप श्रेष्ठ र शारदा अधिकारीको रहेको छ ।

प्रतिक्रियाहरु