४ जना एआईजी बढुवामा

२०७४ कार्तिक २८ गते, मंगलवार

काठमाडौं ,२८ कात्तिक । बढुवा सिफारिस समितिको निर्णयअनुसार गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा थप चार जनालाई बढुवा सिफारिस गरेको छ । समितिको निर्णयअनुसार गृह मन्त्रालयले चार जना प्रहरी नायव महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने सिफारिस सूची प्रकाशित गरेको हो ।
बढुवा सिफारिसमा पर्नेहरुमा हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधव प्रसाद नेपाल र पंकज श्रेष्ठ छन् । सिफारिस अनुसार बढुवाको निर्णय भने मन्त्रिपरिषद बैठकले गर्नु पर्दछ ।
पालले कुल १ सय पूर्णांकमा ७५ दशमलव ३४४ अंक पाएका छन् । उनको दरबन्दी प्रहरी प्रधान कार्यालय नक्शालस्थित विशेष व्यूरोमा छ । यसैगरी पुडासैनीको दरबन्दी प्रहरी प्रधान कार्यालय कार्य विभागमा, नेपालको तालिम निर्देशनालयमा र श्रेष्ठको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा दरबन्दी छ ।
यसअघि ७ जना एआईजी दरबन्दी भएकामा गृहमन्त्री जनार्दन शर्माको पालामा ४ दरबन्दी थपेर ११ पुर्याइएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा अाफैले गृहमन्त्रालय सम्हालेको बेला फेरि ४ जना थपेर बढुवा सूची सार्वजनिक गरिएको छ । यससँगै प्राविधिकसहित एआईजीको दरबन्दी १६ पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु