४५ सय चिकित्सक हड्तालमा

२०७३ चैत्र १२ गते, शनिबार

काठमाडौं, १२ चैत । भारतको महाराष्ट्रमा पाँच दिनदेखि हड्ताल गरिरहेका ४५ सय आवासीय चिकित्सकहरुले शनिबार (भोलि) बिहान ८ बजेदखि अस्पताल फर्कने आश्वासन दिएका छन् । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणभिसले शुक्रबार (आज)को छलफलमा हड्तालमा संलग्न चिकित्सकहरु समझदारीमा नआए कारबाही गर्ने चेतावनी दिएका थिए । उनले चिकित्सकहरुलाई बिरामीको उपचारमा संवदेनशील नभएको र चरम लापरबाही गरेको आरोपमा कारबाही गर्ने बताएका थिए । विधानसभामा मुख्यमन्त्री फडणभिसले ‘सरकार बिरामी मरेको हेरेर बस्न नसक्ने’ बताउँदै चिकित्सकहरुको सबै माग पूरा गर्न सरकार तयार रहेको बताएका छन् । उनले महाराष्ट्र आवासीय चिकित्सक संघसँग हड्ताल तोड्न शुक्रबार गरेको बैठकपछि आवासीय चिकित्सकहरु शनिबार बिहान ८ बजेदेखि अस्पताल फर्कन राजी भएका हुन् ।
यसअघि, मुख्यमन्त्री फडणभिस महाराष्ट्रका शिक्षामन्त्री गिरिष महाजन र जनस्वास्थ्यमन्त्री डा. दीपक सावन्तलाई फोन गरेर चिकित्सकहरुको सबै माग पूरा गर्न सरकार तयार रहेको बताउँदै चिकित्सकलाई तत्काल हड्ताल छोडेर अस्पताल फर्कने वातावरण बनाउन आग्रह गरेका थिए । उनले फोनबाटै ‘यदि चिकित्सकहरुले शुक्रबार (आज) हड्ताल रोकेर अस्पताल नफर्के महाराष्ट्र सरकार कारबाही गर्न बाध्य हुने’ बताएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् । गत मंगलबार मुम्बई उच्च अदालतले चिकित्सकहरुको हड्तालका कारण सरकारी अस्पतालका हजारौं बिरामीको स्वास्थ्य अवस्था नाजुक भएको उल्लेख गर्दै आपत्ति जनाएको थियो ।
उच्च अदालतका प्रधानन्यायाधीश मञ्जुल चेल्लुर र जी एस कुलकर्णीले चिकित्सकहरुको हड्ताल मानवताविरोधी भएको उल्लेख गर्दै उनीहरु ‘सामान्य कारखानामा काम गर्न लायक’ भएको अभिव्यक्ति दिएका थिए । गत सोमबार अस्पतालमा उपचार गर्न आएका एक बिरामीको आक्रमणमा आवासीय चिकित्सक घाइते भएपछि सरकारी अस्पतालमा सुरक्षाको माग गर्दै महाराष्ट्रका चार हजार पाँच सय आवासीय चिकित्सकहरुले आमहड्ताल सुरु गरेका थिए । आवासीय चिकित्सकले शनिबारदेखि अस्पताल फर्कने आश्वासन दिएपनि हड्ताल सकिएको घोषणा भने गरेका छैनन् । – एजेन्सी

प्रतिक्रियाहरु