३१ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

२०७५ जेष्ठ २८ गते, सोमबार

काठमाडौं, २८ जेठ । प्रतिबन्धित ३१ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । नेपालमा प्रतिबन्धित २ हजार दरका १५ सय ५४ वटा भारतीय नोटसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ का अजितकुमार झा र निरज सिंह वीरगन्जमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनीहरुलाई हिजो वीरगन्जको रानीघाट चोकमा पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा ना. ३१ प ५६०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरु पक्राउ परेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए । उनीहरुमाथि आवश्यक थप छानबिन भइरहेको प्रहरीले जनाएको छ । वीरगन्ज नाकाबाट पछिल्ला तीन सातामा ७४ लाख ३५ हजार ५ सय प्रतिबन्धित भारतीय रुपैयाँ बरामद भइसकेको छ । जेठ ५ गते शंकराचार्य गेटबाट १२ लाख ७५ हजार तथा २२ गते रजतजयन्ती चोकबाट ३१ लाख ८० हजार भारतीय रुपैयाँ बरामद भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु