२४ ओटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा

२०७६ असार १० गते, मंगलवार

काठमाडौं, १० असार । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकैसाथ २४ ओटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित ‘स्पेसएक्स’ कम्पनीको ‘फाल्कन हेभी रकेट’ मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ ।
अमेरिकी समयअनुसार बिहान २.३० बजे फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी प्रक्षेपण गरिएको थियो । फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो । स्पेसएक्स कम्पनीको इतिहासमै यो निकै चुनौतीपूर्ण प्रक्षेपण हो । र, यस अभियानमा करिब ६ घन्टा लागेको थियो । स्पेसएक्सकाअनुसार गत अप्रिलमा फाल्कन हेभीको परीक्षण उडानमा प्रयोग गरिएको ‘बुस्टर’लाई पनि यसपटक पुनः प्रयोग गरिएको थियो । अन्तरिक्षमा उपग्रह स्थापनामा केन्द्रित गरिरहेको स्पेसएक्सले निकट भविष्यमै मानिसलाई अन्तरिक्ष पर्यटनमा लैजाने योजना अघि बढाएको छ ।- रासस/सिन्ह्वा

प्रतिक्रियाहरु