१६ जना डाक्टरको काम डा.प्रभु एक्लैले भ्याउँदै

२०७४ मंसिर १७ गते, आईतवार

काठमाडौँ, १७ मंसिर । १६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजनामात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पताल इलाममा हाल दुईजना स्थायी डाक्टर र दुईजना मेडिकल अफिसरले सेवा दिइरहेका छन् । नौजना विशेषज्ञसहित १६ जना डाक्टरले सेवा पुर्‍याउनुपर्ने ५० श्यैय्याको जिल्ला अस्पतालमा एकजनामात्र विशेषज्ञ डाक्टर प्रभु शाह सेवारत छन् ।
विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिनआएका बिरामी सघन उपचारको लागि जिल्ला बाहिर जाने क्रम रोकिएको छैन । सरकारले अस्पतालको प्रशासनिक प्रमुख पनि मेडिकल सुपरिटेन्डेनटलाई तोकेपछि एकमात्र उपलब्ध विशेषज्ञ डाक्टर शाहमाथि प्रशासनिक थप बोझसमेत थपिएको छ ।
दैनिक २० देखि ३० जना ओपिडीका बिरामी जाँच्ने, १० देखि १५ जनाको भिडियो एक्सरे गर्ने, एकदेखि तीनओटासम्म सुरक्षित गर्भपतन गर्ने, एउटा शल्यक्रिया गर्ने, भर्ना भएका बिरामीको दिनमा अनिवार्य दुईपटक चेकजाँच र उपचार गर्नेदेखि लिएर प्रहरी रिपोर्ट गरिएका केस ह्यान्डल गर्ने सम्मका काम डाक्टर प्रभु शाहका दैनिक काम हुन् ।
आवश्यकताअनुसार इमरजेन्सीको बिरामी हेर्ने, शवपरीक्षण गर्ने, एचआइभीका बिरामी, क्षयरोगका बिरामी जाँच गर्ने काम पनि बेलामौका गरिरहेको उनले बताए ।
विशिष्ट प्रकृतिका रोगको लागि निःशुल्क सिफारिस गर्ने काम पनि महिनामा एक दुई ओटा गर्न उनले भ्याउनुपर्ने बाध्यता छ । उनी भन्छन्, ‘यो भन्दा प्रेसर एकजना डाक्टरलाई कति हुन्छ’, ‘सरकारले दरबन्दी बमोजिम डाक्टर पठाए सहज रुपमा अस्पताल सन्चालन गर्न सकिने थियो ।’
सरकारले ५० श्यैय्याको अस्पतालको स्वीकृति दिए पनि हाल ३७ श्यैय्यामात्र सन्चालनमा ल्याउन सकेको उनले बताए । १६ जना डाक्टरको दरबन्दी भएको इलाम अस्पतालमा नर्सको भने १५ जनाको मात्र दरबन्दी छ । ‘सुन्दा अचम्म लाग्नसक्छ तर सत्य नै यही हो’, डा शाहले भने ।
१५ जना नर्सको दरबन्दीमा आठजना मात्र कार्यरत
अस्पताल विकास समितिका अध्यक्ष केदार थापाले सरकारले डाक्टरको योगदानको मूल्यांकन गर्न नसक्दा अस्पतालमा विशेषज्ञ सेवाको अभाव भएको बताए । उनले दरबन्दीअनुसारका डाक्टर नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताए ।
चुनावका मुखमा आवश्यक डाक्टर पठाइदिने बाचा गर्दै भोट व्याङकको रुपमा इलाम अस्पताललाई नेताले प्रयोग गर्न थालेको पनि धेरै वर्षभयो तर अस्पतालमा विशेषज्ञ डाक्टर पठाइदिने कुरा आश्वासनमा मात्र सीमित हँुदै आएको छ । इलाम अस्पतालमा मानव संशोधनको हिसाबले कुरा गर्ने हो भने दुईदशक पहिले भन्दा केही पनि फरक छैन ।
अस्पताल बाहिर फार्मेसी सन्चालन गर्दै आएका विनोद थापा भन्छन्, ‘धन्न प्रभु सरले थाम्नुभएको छ, अरु कोही भएको भए यतिका समय इलाम रुँगेर बस्दैन थिए होला ।’
५० श्यैय्याको यस अस्पतालमा पूरा डाक्टरको दरबन्दी हुने र सबै श्यैय्या सन्चालन गर्न सके यहाँका बिरामी बाहिर उपचारमा जानुपर्ने बाध्यता हट्ने थियो । जिल्लावासीले तत्काल यो समस्या समाधान गर्न सरकारसमक्ष माग समेत गरेका छन् ।- टीका खतिवडा (रासस)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु