१५ वर्षभित्र एड्सको महामारी अन्त्य हुने

२०७२ श्रावण २ गते, शनिबार

काठमाडौँ । सन् २०१५ सम्ममा डेढ करोड एचआइभी संक्रमितको उपचार गर्ने संयुक्त राष्ट्रसंघको लक्ष्य पूरा भएको छ । राष्ट्रसंघले तय गरेको लक्ष्य निर्धारित समयभन्दा ९ महिना अगावै अर्थात् गत मार्च महिनामै हासिल भएको छ ।
सन् २००० मा संयुक्त राष्ट्रसंघले सहश्राब्दी विकाश लक्ष्य अन्तरगत एचआइभी विरुद्धको संघर्षमा समेत लक्ष्य तय गरेको थियो, जतिबेला ७ लाख एचआइभी संक्रमितले मात्र औषधोपचार पाएका थिए । एचआइभी विरुद्धको विश्वव्यापी संघर्षका कारण सन् २००० यता ३ करोड मानिसलाई एचआइभी संक्रमित हुनबाट बचाइएको तथा एड्सकै कारण हुने ८० लाख मृत्यु रोक्न सकिएको राष्ट्रसंघीय तथ्यांकले जनाएको छ । यो अवधिमा विश्वमा नयाँ एचआइभी संक्रमणको दर घटेर २६ लाख प्रतिवर्ष बाट १८ लाख प्रतिवर्षमा झरेको छ । त्यस्तै एड्सका कारण हुने वार्षिक मृत्यु १६ लाखबाट १२ लाखमा झरेको छ । सन् २००० देखि २०१४ सम्मको अवधिमा एचआइभीको क्षेत्रमा भएको विश्वव्यापी लगानीमा समेत उल्लेखनीय वृद्धि भएर ४ अर्ब ८० करोडबाट २० अर्ब डलर पुगेको छ ।
राष्ट्रसंघका अनुसार आउँदो पाँच वर्षसम्म विश्वव्यापी रुपमा एकताबद्ध प्रयास भएमा सन् २०३० सम्ममा एड्सको महामारीको अन्त्य गर्न सकिने युएन एड्सले जनाएको छ । यद्यपि विश्वका कतिपय क्षेत्रमा भने प्रगति सुस्त रहेको बताइएको छ । एचआइभी संक्रमणको अवस्थाका विषयमा जनचेतनाको अभाव तथा संक्रमित बच्चाहरुमा उपचारको पहुँच कम हुन सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको युएनएड्सको भनाइ छ । राष्ट्रसंघका अनुसार प्रतिवर्ष नयाँ एचआइभी संक्रमित थपिने दर उल्लेखनीय रुपमा घटेपनि अहिले भएका प्रतिवर्ष १८ लाख नयाँ रोगी थपिनु समेत निकै गम्भीर तथा अस्विकार्य अवस्था हो । अहिले विश्वमा हुने एचआइभी संक्रमण मध्ये ६६ प्रतिशत सब सहारा अफ्रिका क्षेत्रमा हुने गर्छन् । विश्वमा अहिले एचआइभी संक्रमित मानिसको कुल संख्या ३ करोड ६९ लाख रहेको र त्यसमध्ये २ करोड ५८ लाख संक्रमित सब सहारा अफ्रिका क्षेत्रमै रहेका छन् । संयुक्त राष्ट्रसंघले सन् २००० मा तय गरेको सहश्राब्दी विकाश लक्ष्यको अवधि यो वर्ष सन् २०१५ मा सकिँदैछ । अर्काेवर्ष बाट राष्ट्रसंघले सहश्राब्दी विकाश लक्ष्यको साटो दिगो विकाश लक्ष्य तय गर्नेछ ।
राष्ट्रसंघका महासचिव बान की मुनले एड्सको महामारी घटाउनका लागि विश्वले महत्वपूर्ण योगदान गरेको भन्दै अब दिगो विकाश लक्ष्यको भागको रुपमा एड्सको महामारी अन्त्य गर्ने प्रतिबद्धता सबैले गर्नुपर्ने बताए ।

प्रतिक्रियाहरु