१५ आयोजनालाई विवरण पठाउन निर्देशन

२०७५ जेष्ठ ४ गते, शुक्रबार

काठमाडौं, ४ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्ला मातहतका आयोजना कार्यालयलाई तीन दिनभित्र आयोजनाको कामबारे विस्तृत् विवरण पठाउन निर्देशन दिएको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लाका विभिन्न १५ विकास निर्माणका आयोजना प्रमुखलाई शुक्रबार पत्र लेख्दै तीन दिनभित्र ठेकेदारले गरेको कामको विस्तृत् विवरण पठाउन निर्देशन दिएको बताए । सडक डिभिजन कार्यालय, भवन डिभिजन कार्यालय, सिँचाइ डिभिजन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसहित ११ स्थानीय तहमा शुक्रबार पत्र पठाइएको छ । ‘हामीले परियोजनाको नामसहित कुन ठेकेदारले कति काम गरेको छ, सोको विस्तृत् विवरण पठाउन आयोजना प्रमुखलाई भनेका छौं’–उनले भने ।
बिहीबार गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरबाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि काठमाडौं कार्यालयले सम्बन्धित आयोजनाबाट कामको प्रगति विवरण माग गरेको हो ।
निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि मन्त्रालयले जिल्लास्तरमा सन्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतका विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको हो ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार