१४ सय लाख वर्ष पूरानो डाइनोसरको तिघ्राको हड्डी फेला पर्‍यो

२०७६ श्रावण १२ गते, आईतवार

काठमाडौं, १२ साउन । दक्षिण-पश्चिमी फ्रान्सस्थित एउटा उत्खनन क्षेत्रमा डाइनोसरको तिघ्राको हड्डी फेला परेको छ । वैज्ञानिकहरूले करिब दुई मिटर लामोलामो भीमकाय डाइनोसरको १४ सय लाख वर्ष पूरानो तिघ्राको हड्डी फेला पारेको बताएका हुन् । औँजेक क्षेत्रमा फेला पारिएको र त्यो सोरापाड डाइनोसरको भएको जनाइएको छ । लामो घाँटी र पुच्छर भएको ती भीमकाय डाइनोसरले बोटविरुवा खाने गर्थे। जुरासिक युगको अन्त्यतिर एकदमै पाइने सोरापाड डाइनोसर पृथ्वीमा हालसम्म पाइएका ठूलामध्येका स्थलचर थिए।
वैज्ञानिकहरूले फेला पारिएको हड्डी टुक्रिने अवस्था रहेको र यत्रो टुक्रा प्राप्त हुनु दुर्लभ कुरा रहेको बताएका छन् । जीवाश्मबारेका जानकार वैज्ञानिकहरूले संरक्षित अवस्था हेरेर आफूहरू आश्चर्यचकित भएकोबताएका छन्। फेला पारिएको पछिल्लो हड्डी बाहिर निकाल्न पूरै एक हप्ता लाग्न सक्ने र त्यसका लागि क्रेन चाहिने बताइएको छ। कोन्याक नगर नजिकै पर्ने शाराँट क्षेत्रस्थित अङ्गुर बगानहरूमुनिको जमिन उत्खनन कार्यमा करिब ७० जना वैज्ञानिकले यो ग्रीष्मकालमा काम गरिरहेका छन्। ४० देखि ५० टनसम्मको तौल भएका सोरापाड डाइनोसरहरू १४ करोड वर्ष पहिला अस्तित्वमा रहेको र सन् २०१० यता सो क्षेत्रबाट ती डाइनोसरका साढे सात हजारभन्दा बढी जीवाशेष फेला पारिसकिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । एउटा फ्रान्सेली पत्रिका अनुसार सन् २०१० मा एउटा सोरापाड डाइनोसरको तिघ्राको हड्डी फेला पारिएको थियो जसको लम्बाइ २ मिटर र तौल ५०० किलोग्राम थियो।
यसअघि स्टेगासोरस डाइनोसरका हड्डी तथा अस्ट्रिच डाइनोसरको एउटा सिङ्ग फेला पारिएको थियो।-एजेन्सी

प्रतिक्रियाहरु