१४ नेपाली चीनको हिरासतमा

२०७३ श्रावण १३ गते, बिहीबार

काठमाडौं, १३ साउन । चौध जना नेपाली युवा चिनियाँ प्रहरीको नजरबन्द ‘डिटेन्सन’मा रहेका छन् । दलालको भरमा चीनमा काम गर्न भनेर विभिन्न समयमा गएका उनीहरु पर्यटक भिसा सकिएर अवैध भएपछि नजरबन्दमा परेका हुन् । पीडितले पत्रकार बताउने सीताराम पराजुली र ‘जम्प टु जब’ नामक मेनपावरका एजेन्ट गोपाल शिवाकोटीले आफूहरुलाई चीनमा ल्याएर बिचल्ली पारेको भन्दै बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए । उनीहरुको निवेदनपछि दूतावासले स्थानीय प्रहरीसमक्ष नेपाली युवालाई उद्धार गर्न अनुरोध गरेको थियो । बेइजिङको अध्यागमन कार्यालयमा ८ जना युवाहरु नजरबन्दमा छन् भने सान्तोङ प्रान्तमा दुईजना रहेका छन् । चीनको दक्षिणपूर्वमा हङकङ नजिकै रहेको सेन्जेनमा चारजना युवा प्रहरीको नजरबन्दमा रहेका छन् ।
चिनियाँ कानुनअनुसार भिसा सकिएर अवैध भएका विदेशीले दैनिक पाँच सय चिनियाँ युआन जरिवाना तिर्नुपर्छ । नेपाली युवाहरुले सो रकम तिर्न नसकेपछि प्रहरीले उनीहरुलाई नजरबन्दमा राखेको हो । लगभग तीन हप्ता नजरबन्दमा रहेपछि चिनियाँ प्रशासनले उनीहरुलाई देश निकाला ‘डिपोट’ गरेर नेपाल पठाउनेछ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु