१४ किमी सडक यात्राको आठ सय भाडा !

२०७७ असार २२ गते, सोमबार

काठमाडौँ , २२ असार । जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा १४ किमी मात्रै छ तर जीप भाडा भने सर्वसाधारणको ढाड सेक्ने छ । लकडाउनको मौका छोपी जीप व्यवसायीले चर्को भाडा असुल्न थालेपछि आर्थिक वर्षको मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि जिल्ला अस्पतालमा उपचारका लागि आउने सर्वसाधारण ठूलो मर्कामा परेका छन् ।
कोरोना भाइरसका कारण देशको अर्थतन्त्र धरापमा परेर सबै ठाउँमा आर्थिक सङ्कट भएको अवस्थामा दुनै–सुपानी, सुपानी–दुनै, दुनै–जुफाल र जुफाल–दुनै सडकखण्डमा जीप व्यवसायीले नागरिकको ढाड सेक्ने गरी भाडा असुलेको यात्रुको गुनासो छ । सिंहदरबार गाउँगाउँमा भने पनि धेरैजसो कामका लागि सदरमुकामनै धाउनुपर्ने अवस्था नहटेको सर्वसाधारण बताउँछन् ।
“दुनै आउन जान गरेर भाडा मात्रै एक हजार ६०० तिर्नुपर्ने बाध्यता छ, अरु खाना खाजासहित जोडेर तीन हजार खर्च हुन्छ”, त्रिपुरासुन्दरी–१ का भरुन सार्कीले गुनासो गर्नुभयो । तराईका जिल्लामा १५० किलोमिटरसम्म यात्रा गर्न मिल्ने पैसा डोल्पामा आजभोलि १४ किमीमा तिर्नुपर्ने बाध्यता रहेको सार्कीले बताउनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय डोल्पाले जीपमा पनि सामाजिक दूरी कायम गर्दै तीनजनासम्म नागरिक बोक्न पाउने व्यवस्था गरेको छ तर यातायात व्यवसायीले प्रशासनको नियमलाई उल्लङ्घन गर्दै छ जनासम्म यात्रु ओसार्दै आएका छन् । सामान्य अवस्थामा जस्तै छ जनासम्म यात्रु बोके पनि लकडाउनको कारण देखाउँदै भाडा भने प्रतिव्यक्ति आठ सय लिने गरेको दुनै आउँदै गरेका यात्रु रमेश परियारले गुनासो गर्नुभयो ।
लकडाउन हुनुभन्दा अगाडिसम्म छ जना मान्छे बोक्न पाउने र भाडादर प्रतिव्यक्ति तीन सय ५० कायम गरिए पनि आजभोलि आफूखुशी भाडा उठाउने गरेको उहाँले बताउनुभयो । “डोल्पाका जीप व्यवसायीलाई नियम कानून केही नलाग्ने रहेछ, ट्राफिकले नियमन गर्न खोज्दा पनि उल्टै जाइलाग्ने गरेको देखेँ”, उहाँले भन्नुभयो । मनपरी भाडा असुल्ने जीप व्यवसायीलाई स्थानीय प्रशासनले नियमन नगर्दा यस्तो समस्या आएको उहाँको भनाइ छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु