१२ वर्षमा एक पटक फुल्ने फूल !

२०७५ कार्तिक १३ गते, मंगलवार

काठमाडौं, १३ कात्तिक । ‘१२ वर्ष’लाई इतिहासमा एउटा बिम्बका रुपमा व्याख्या गर्ने चलन छ । ‘१२ वर्षमा बगेको खोलो पनि फर्कन्छ’ भन्ने उखान नेपाली समाजमा अझै प्रचलित छ । ‘१२ वर्ष’लाई प्रकृतिले पनि खास महत्व दिएको पाइन्छ । यसको एक उदाहरण हो– १२ वर्षमा एकपटक फूल्ने फूल । भारतको केरल पर्यटकीय दृष्टिकोणले निकै प्रख्यात छ । केरलको मुन्नारमा समुद्र सतहबाट एक हजार ६०० मिटरभन्दा बढी उचाईमा रहेको पहाडी क्षेत्र कफी र मसला खेतीका लागि प्रख्यात छ । यो क्षेत्रमा अहिले पर्यटकको विशेष चहलपहल बढेको छ । कारण हो– १२ वर्षमा एकपटक फूल्ने फूलको प्राकृतिक सुन्दरता । हो, उक्त क्षेत्रमा अहिले ‘नीलकुरिन्जी’ नामक फूलले सिंगो पहाडलाई नै नयाँ रङ प्रदान गरेको छ । यो फूल १२ वर्षमा एक पटकमात्र फूल्ने गर्दछ । ‘नीलगिरी’ पर्वतको नाम यसै फूलका नामबाट राखिएको बताइन्छ ।
यसअघि यो फूल सन् २००६ मा फूलेको थियो । १२ वर्ष पुरा भएसँगै यस वर्ष फेरि यो फूलले पहाडी क्षेत्रलाई रंग्याएको छ । यही फूल फूलेको मनोरम दृष्य हेर्नका लागि पर्यटकहरु ओइरो लागेका छन् । सन् २००६ मा यो फूल फूलेको मौसममा करिब ३ लाख पर्यटक सो क्षेत्रमा पुगेको बताइन्छ । यो फूल अगस्ट महिनाबाट फूल्न थाल्छ भने नोभेम्बरबाट यसको सिजन सकिन्छ । अर्कोपटक यो फूल फूल्नका लागि १२ वर्ष प्रतीक्षा गर्नुपर्दछ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु