१०४ वर्षीय वैज्ञानिकद्वारा स्वेच्छिक मृत्युका लागि घर त्याग

२०७५ बैशाख २० गते, बिहीबार

काठमाडौं, २० बैशाख । १०४ वर्षीय वैज्ञानिक डेविड गुडअलले बुधबार स्वेच्छिक मृत्युका लागि आफ्नो घर छाडेका छन् । बोटनी र इकोलोजीका प्रख्यात वैज्ञानिक उनी आफ्नो जीवनमो सम्मानजनक अन्त्य चाहन्छन् । लन्डनमा जन्मिएर अस्ट्रेलियाको पर्थमा बस्दै आएका उनमा कुनै ठूलो रोग छैन । यो उमेरसम्म बाँच्दा आफ्नो स्वतन्त्रता खोसिएको उनको भनाइ छ । केहीअघि आफ्नो जन्मदिनका अवसरमा उनले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनसँग भनेका थिए, ‘मलाई यो उमेरसम्म आइपुगेकोमा पछुतो छ, म खुशी छैन, म मर्न चाहन्छु ।’
लामो समयसम्म चलेको विवादपछि गत वर्ष अस्ट्रेलियाको एक राज्यमा ‘असिस्टेड डाइङ्ग’लाई कानूनी मान्यता दिइएको थियो । तर कुनै गम्भीर रोग लागेको व्यक्तिका लागिमात्र त्यो सुविधा दिइने प्रावधान छ । उनमा कुनै गम्भीर रोग नभएका कारण त्यहाँ उनले स्वेच्छिक मृत्युका लागि देश छाड्नु परेको हो ।
डा. गुडअलका अनुसार उनी स्वेच्छिक मृत्युका लागि स्वीटजरल्याण्डको एक क्लिनिकमा जाँदैछन् । तर मृत्यु रोज्नकै लागि कानूनी अड्चनका कारण आफ्नो देश छाड्नु पर्दा भने आफूलाई दुःख लागेको उनको भनाइ थियो ।
उनी केही साता अघिमात्र पश्चिम अस्ट्रेलियाको पर्थस्थित आफ्नो एउटा सानो फ्ल्याटमा एक्लै बस्दै आएका थिए । घरमै लडेर केही दिन अशक्त भएपछि चिकित्सकले उनलाई हेरचाहको खाँचो रहेको भन्दै अस्पतालमै बस्न सुझाव दिएका थिए । कुनै अपरिचित व्यक्तिको हेरचाहमा बस्नुभन्दा स्वेच्छिक मृत्यु ‘सम्मानजक’ हुने भन्दै उनले त्यसयता देहत्यागका लागि योजना बनाएको बताइन्छ । एकान्तप्रेमी उनी धेरै मानिससँग घुलमिल गर्न चाँहदैनन् । उनले सन् १९७९ मा जागिर छाडेका थिए । त्यसपछि उनी ‘फिल्ड वर्क’ मा सामेल हुँदै आएका थिए । हालैका वर्षमा उनले ‘इकोलोजी अफ दि वर्ल्ड’ नामक ३० शृंखलाको पुस्तक सम्पादन गरेका थिए । स्वीटजरल्याण्ड जानुअघि उनी फ्रान्समा आफ्ना परिवारसँग भेट गर्दैछन् । त्यसपछि केही निकट र आफन्तका साथ उनी जीवनको अन्तिम यात्रामा जाँदैछन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु