‘हेलो सरकार’मा ५० हजार गुनासा

२०७३ आश्विन ९ गते, आईतवार

काठमाडौं, ९ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको ‘हेलो सरकार’ स्थापना भएको पाँच वर्षको अवधिमा ५० हजारभन्दा धेरै गुनासा परेका छन् । १७ कात्तिक ०६८ देखि ६ असोजसम्म ५० हजार चार सय गुनासा परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । सर्वसाधारणबाट परेका गुनासामध्येबाट अहिलेसम्म ९१ दशमलव ८१ प्रतिशत गुनासा फस्र्योट भएको छ । ‘सम्बोधन हुन लायक सबै उजुरीको ढिलोचाँडो सम्बोधन भएरै छाड्छ,’ उनले भने । ‘हेलो सरकार’ले गुनासो हेरेर प्रत्यक्ष फोन गर्नेदेखि सम्बन्धित निकायलाई पत्र देखेर सम्बोधन गर्दै आएको छ । ‘हेलो सरकार’मा सबैभन्दा धेरै उजुरी काठमाडौं उपत्यकाबाट परेका छन् ।
मुलुकभरबाट आएका २० प्रतिशत गुनासा सम्बोधन गर्न नै नमिल्ने खालका हुने उपाध्यायको भनाइ छ । उनका अनुसार जिस्क्याउने, जोक गर्ने र झिँजो लाग्ने किसिमका गुनासासमेत आउने गरेको छ ।
पाँच वर्षमा पाँच प्रधानमन्त्री फेरिए
‘हेलो सरकार’ स्थापना भएको पाँच वर्षको अवधिमा पाँचजना प्रधानमन्त्री भए । तर, सबैभन्दा धेरै गुनासा डा।बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा परेका थिए । उनको समयमा २० हजार ६ सय ६३ गुनासा परेका थिए । ‘हेलो सरकार’ स्थापना हुनुभन्दा पहिला गुनासो सुन्ने व्यवस्था भए पनि प्रभावकारी थिएन ।
तर, भट्टराईले ‘हेलो सरकार’ स्थापना गरेर सबै सरकारी निकायलाई गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका थिए ।
‘हेलो सरकार’ स्थापना हुनुभन्दा पहिलेका गुनासासमेत जोडेर तथ्यांक धेरै देखिएको ‘हेलो सरकार’ कक्षका अधिकृत हरिभक्त महतरा बताउँछन् । ‘हेलो सरकार’ स्थापना हुनुभन्दा अघि करिब तीन हजार उजुरी परेका थिए ।
‘हेलो सरकार’ मा व्यक्तिगत लेनदेनका गुनासा बढी
हेलो सरकारमा धेरैजसो व्यक्तिगत लेनदेनमा समस्या परेका विषयमा धेरै गुनासा आउने गरेका छन् । दैनिक जीवनमा उपभोग गर्ने यातायात, विद्युत्, सडक, महँगी, कृषकले बीउ, मल समयमा नपाएका जस्ता गुनासा आउने गरेका छन्
सरकारी कर्मचारीले भ्रष्टाचार गरेका उजुरी पनि धेरै आउने गरेका छन् । स्थानीयस्तरमा सडक, सिँचाइ, विद्यालय र स्वास्थ्य चौकीजस्ता क्षेत्रमा आर्थिक अनियमितता भएका गुनासा धेरै आउने गरेका छन् ।
कुन प्रधानमन्त्री हुँदा कति गुनासा ?
डा. बाबुराम भट्टराई (१२ भदौ २०६८-३० फागुन २०६९)
परेका गुनासा २० हजार ६ सय ६३
फछ्र्योट २० हजार ३ सय १९
खिलराज रेग्मी (मन्त्रिपरिषद् अध्यक्ष १ चैत २०६९–२८ माघ २०७०)
परेका गुनासा ६ हजार ८ सय ४
फछ्र्योट ६ हजार ५ सय १
सुशील कोइराला (२८ माघ २०७०–२४ असोज २०७२)
परेका गुनासा ९ हजार ५ सय ८१
फछ्र्योट ९ हजार १ सय ९३ वटा
केपी ओली ९२५ असोज २०७२–१९ साउन २०७३०
परेका गुनासा ९ हजार ३ सय १६
फछ्र्योट ७ हजार ५ सय ७९ वटा
पुष्पकमल दाहाल प्रचण्ड (१९ साउन २०७३– ६ असोजसम्म)
परेका गुनासा २ हजार ३ सय ९० वटा
फछ्र्योट १ हजार २ सय ८४ वटा
यी हुन् ‘हेलो सरकार’मा उजुरी दिन सकिने ठाउँ
‘हेलो सरकार’मा केन्द्रीय कार्यालयदेखि पाँच विकास क्षेत्रबाट समेत गुनासा गर्न सकिन्छ । केन्द्रीय कार्यालय काठमाडौंसहित पूर्वाञ्चलको धनकुटा, मध्यमाअञ्चल हेटौंडा, पश्चिमाञ्चल पोखरा, मध्यपश्चिमाञ्चल सुर्खेत र सुदूरपश्चिमाञ्चलको धनगढीबाट गुनासा लिन सकिन्छ ।
‘हेलो सरकार’ मा ११११ नम्बरबाट, फेसबुक र ट्विटरबाट समेत गुनासा दिन सकिन्छ । उजुरीकर्ताले आफ्नो ठेगानासहित गुनासाको विस्तृत विवरण उल्लेख गर्नुपर्दछ । – वीरेन्द्र ओली, नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु