हेप्ने, पेल्ने र दवाउने कुरा गरे हतियार उठ्छ : विप्लव

२०७१ फाल्गुन १९ गते, मंगलवार

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव)ले सरकारमा रहेका दलले रोल्पामा गएर गरेको प्रतिबद्धता पूरा नगरी माओवादी र जनतालाई अधिकारविहीन बनाए हतियार उठाउने चेतावनी दिएका छन् । २० औ जनयुद्ध दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजित सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै महासचिव विप्लवले सो चेतावनी दिएका हुन् ।विप्लवले कांग्रेस र एमालेले माओवादीका मागलाई सम्बोधन नगरी हेप्ने, पेल्ने र हतियारले दवाउने कुरा गरे त्यही हतियार उठाएर उनीहरुकै गर्धनमा प्रहार गर्ने चेतावनी पनि दिएका छन् ।
२० औ जनयुद्ध दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजित सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै महासचिव विप्लवले जनताका अधुरा सपना पूरा गर्न एकीकृत जनक्रान्तिको कार्यदिशा अवलम्वन गरी अाफ्नाे पार्टी अगाडि बढेको जानकारी दिए । सहिदको रगतले माओवादी पार्टी जन्माएको बताउँदै उनले सहिदको रगतमा फैलिएको पार्टीले बाटो नबिराईकन हजारौ सहिदका सपना पूरा गर्ने प्रतिबद्धता समेत जनाए ।
सो क्रममा उनले जनयुद्धकालीन प्रमुख नेताहरुले क्रान्तिलाई बीच बाटोमा ल्याएर छाडेको बताए । अलपत्र परेको क्रान्तिलाई अब जनताले फेरि उठाएर लक्ष्यमा पुर्याउनुपर्ने दायित्व आइपरेको उनकाे भनाइ थियाे ।
१० हजार नेपालीलाई सहिद बनाएर प्रचण्डले जनयुद्धको नाममा अधुरो क्रान्ति गरेर सहिदका सपनालाई लात हानेको महासचिव विप्लवले बताए । उनले अरुले सहिदका सपना भूले पनि आफूहरुले सँगै लड्दा लड्दै ज्यान गुमाएका सहिदको सपना कुनै हालतमा पनि भुल्न नसक्ने बताए ।
साे क्रममा महासचिव विप्लवले इतिहासमा सबैभन्दा धोकेबाज र स्वार्थी नेता प्रचण्ड भएको बताए । उनले आफुहरुले पार्टी छोडेको वा फुटाएको नभइ प्रचण्ड नै माओवादी आन्दोलनको प्रस्ताव र जनता छोडेर भागेको आरोप लगाए ।
प्रचण्डले नव सामन्तवादको पक्षपोषण गरी जनयुद्धका मुद्दा भुलेकाले काग्रेस र एमालेले राज्यसत्ताको दुरुपयोग गरी माओवादीलाई नोकरको व्यवहार गर्न तम्सिएको बताए ।
अबको लडाइँ देश बेच्न तम्सिएका दलालहसँग हुने बताउँदै उनले बेलैमा सचेत भएर माओवादीका मागलाई सम्बोधन गर्न आग्रह गरे । कार्यक्रममा चितवन जिल्लाबाट सहिद भएका १०२ जना सहिदका परिवारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । माओवादी चितवन जिल्ला सेक्रेटरी महेशको अध्यक्षता र जिल्ला कार्यालय सदस्य केशवको सहजीकरणमा भएको कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पोलिटब्यूरो सदस्य पदम राई, केन्द्रीय सदस्य गुणराज लोहनी, चितवन जिल्ला ईन्चार्ज चिरन पुन लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु