हुवावे मोबाइलका ग्राहक बिच्किए

२०७६ जेष्ठ १७ गते, शुक्रबार

काठमाडौं, १६ जेठ । विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादन गर्ने कम्पनी हुवावेविरुद्ध एन्ड्रोइड सिस्टम निर्माता कम्पनी गुगलले कदम चालेपछि हुवावेका ग्राहक बिच्किएका छन् । गुगलले हुवावे स्मार्ट फोनमा आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमका सबै अपडेट रोक्ने निर्णय गरेसँगै हुवावेका ग्राहक घट्न थालेका हुन् । अमेरिका र चीनबीचको बढ्दो व्यापारिक द्वन्द्वसँगै चिनिया कम्पनी हुवावेविरुद्धका कदमहरु चालिन थालेका हुन् । अमेरिकाले हुवावेका उत्पादनप्रति कडा नीति लिएसँगै त्यसको असर हुवावेका उत्पादनमा पर्न थालेको छ । अमेरिकी सरकारले हुवावेको पहुँचलाई खुम्च्याउन गुगललाई अपडेट रोक्न दबावपूर्ण निर्देशन दिएको बताइन्छ । यसका कारण विश्वबजारमै हुवावे स्मार्टफोनको कारोबारमा कमी आउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपश्चात् अमेरिकामै मुख्यालय रहेको गुगलले हालै हुवावेको एन्ड्रोइड लाइसेन्स रद्द गरिसकेको छ । इन्टेल, क्वालकम, ब्रोडकम इन्फेनियनजस्ता चिप्स निर्माता कम्पनीले पनि हुवावेसँगको सम्झौता रद्द गरेका कारण हुवावे थप मारमा पर्ने देखिएको छ । तर चीनमै यी सिस्टम तथा चीप्स तयार गर्नुपर्ने बाध्यता रहेकोले हुवावेलगायत कम्पनीले निकट भविष्यमै विकल्प तयार गर्ने आँकलन समेत अन्तर्राष्ट्रिय बजारमा हुन थालेको छ । नेपालमा पनि हुवावे स्मार्टफोनको कारोबार पछिल्लो समय खस्किँदै गएकाे माेबाइल बिक्रेताहरु बताउँछन् । केही समयअघिसम्म हुवावेप्रति नेपाली मोबाइल प्रयोगकर्ताहरुको आकर्षण बढ्दै गएको थियो । तर गुगलको उल्लिखित निर्णयपछि भने हुवावेप्रतिको आकर्षण घटेको छ । ग्राहकले अहिले अन्य विकल्प खोज्न थालेका छन् । न्युरोड पाकोस्थित एक मोबाइल व्यवसायी भन्छन्, ‘पछिल्लो समय हुवावेका मोबाइल हेर्न आउने ग्राहक किन्न भने हिच्किचाउन थालेका छन् । हामी जवरजस्ती गर्न पनि सक्दैनौँ, ग्राहकले रुचाएकै ब्रान्ड बेच्ने हो ।’ उनका अनुसार गुगलका सबै फङ्सन चल्दैन भन्ने समाचार आएसँगै अहिले नेपाली मोबाइल प्रयोगकर्ताहरु हुवावेका स्मार्टफोन किन्न हच्किएका छन् । नेपालमा पछिल्लो समय हुवावेका ‘पी ३० प्रो’, ‘पी ३०’ र ‘पी ३० लाइट’ सबैभन्दा बढी रुचाइएका ब्राण्ड हुन् । यीमध्ये र्सवाधिक रचाइएको हुवावेको ‘पी ३० प्रो’ मोडेलका स्मार्टफोनको व्यापार हिजोआज घटेको छ । यस मोडेलको उत्कृष्ट क्यामेरा र सामान्य मोबाइलको भन्दा ५० गुणा बढी जुमलेन्स क्यामेरा भएकाले धेरैको रोजाइमा पथ्र्यो तर अहिले हेर्न आउने ग्राहक किन्न भने हच्किने गरेको ती व्यवसायीले सुनाए । यसको मूल्य नेपाली बजारमा १ लाख २० हजार हाराहारी पर्छ, यति महंगो मोबाइल किनेर पछि गुगलका अपडेटहरु काम नगर्ने भए फसिने डरले ग्राहक हच्किने गरेका हुन् ।
यद्यपि हुवावे हाल सार्वजनिक भएर बजारमा आएका तथा प्रयोगमा रहेका मोबाइल सेट चलाउन र खरिद बिक्रीमा भने कुनै समस्या नहुने एकथरीको विश्लेषण छ । गुगलले आफ्नो विश्व पहिचान र बजार हिस्सा खस्काउन नचाहने भएकाले पनि गुगलकै पहलमा यो समस्या समाधान हुनेमा चर्चा समेत छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु