‘हिलारी स्टेप’ भत्किएको छैन– पथ प्रदर्शक शेर्पा

२०७४ जेष्ठ १२ गते, शुक्रबार

काठमाडौं, १२ जेठ । सगरमाथाको– आठ हजार मिटरमाथि रहेको ‘हिलारी स्टेप’ भत्किएको भन्ने खबर केही दिनदेखि विभिन्न सञ्चारमाध्ययममा आइरहेकामा सो कुरा सत्य नभएको सगरमाथाका पथ–प्रदर्शक पासाङ तेन्जिङ शेर्पाले दाबी गरेका छन् । शेर्पासहित आरोहण गरेर फर्किएका दुई नेपाली आरोही र एक पर्वतारोहण अधिकारीले सगरमाथाको चुचुरो नजिकै रहेको हिलारी स्टेप पहिलेकै अवस्थामा रहेको बताएका हुन् । बाटो बनाउने काममासमेत संलग्न पथ–प्रदर्शक शेर्पाले भने–‘यसपटक हामीले हिलरी स्टेपभन्दा छेउतिरको डिलैडिलमा बाटो बनाएका छौँ । त्यसैले हिलरी स्टेप नदेखिएर ती आरोहीलाई भ्रम परेको हुनसक्छ । हिलरी स्टेप जहाँ थियो र जस्तो थियो, त्यस्तै छ ।’
सगरमाथा आरोहण गरी फर्किएका अर्का पर्वतारोही लीला बस्नेतले हिलरी स्टेप हिउँले छोपिएको अवस्थामा रहेको बताए ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले पनि हिलरी स्टेप नरहेको भन्ने खबर सत्य नभएको बताए । उनले भने,–‘भूकम्पका कारण हिलरी स्टेपमा कुनै असर परेको छैन । हिउँले गर्दा हिलरी स्टेपको सानो भाग मात्रै देखिन्छ, बाँकी भाग हिउँले छोपिएको अवस्थामा छ ।’
हिमपहिरो र भूकम्पका कारण सन् २०१४ र २०१५ आरोहण हुन नसकेपछि सन् २०१६ मा आरोहण खुलाउन केही रुट परिवर्तन गरिएका थिए । त्यस क्रममा ‘हिलारी स्टेप’नाम दिइएको चट्टानबाट नभइ त्यही चट्टानको दाहिनेतिरबाट बाटो खुलाइएको थियो । यसपटक पनि गत वर्षकै बाटोलाई निरन्तरता दिइएको छ ।
करिब ८ हजार ५ मिटर नजिक साउथ समिट आसपासका क्षेत्रलाई हिलरी स्टेपको नामले चिनिन्छ । पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका दुई आरोहीमध्येका एक सर एडमण्ड हिलरीको नाममा उक्त भागको नाम हिलरी स्टेप राखिएको थियो । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार