हामी चिप्लिएको ठेगाना – बलराम तिमल्सिना

२०७५ मंसिर १९ गते, बुधबार

वारम्वार मनमा प्रश्न उठ्छ
उठ्छ उठिरहन्छ
अहिलेसम्म हल नभएको प्रश्न
हामी कहाँ चिप्लियौं ?

चिप्लिन धेरै कुरा चाहिदैन
तर
चिप्लिएपछि
उठिन्छ नै भन्ने पक्का हुँदैन
जसरी हामी चिप्लिएपछि
आजसम्म उठेकै छैनौं !

चिप्लदै चिप्लदै चिप्लोमा
ख्रुस्चेवको घुर्यानमा पुग्दा पनि
एका थरि अझै मजा मानिरहेछन
जसरी कैलै अघाउँदैनन् नानीहरू
चिप्लेटी ढुङ्गामा चिप्लेटी खेलेर !

कोही भन्छन-
हामी भठिण्डामा चिप्लियौं
कोही भन्छन-
हामी चुनवाङमा चिप्लियौं
कोही भन्छन-
लावाङ , फुण्टिवाङ
र कोही भन्छन – कामीडाँडामा !

हामी चिप्लिएको ठेगाना
कसैको दावी छ दल्ली
र कसैको छ वालुवाटार !

हामी दशकौंदेखि चिप्लिइरहेछौं
जसले हामीलाई जैले देखे
वा जैले हामीले चाल पायौं
हामी त्यही समय र मोडको दावी गर्छौं !

चुन ढुङ्गा पग्लिएर बनेको सुरुङ्ग
र चुन ढुङ्गाका आकृतिझैं
सुरुङभित्र प्रदर्शनीमा छौं हामी
कुनै आकृति छन-
छापामारकाझैं
विप्लव जस्तै जस्तै
कुनै आकृति छन
जोखाना हेर्ने धामीझैं
किरण जस्ता जस्ता
कुनै छन-
जुवा हारेका जुवाडेझैं
छविलाल छविलाल अनुहारका
असंख्य किरिङमिरिङ आकृतिहरू छन
एउटा विशाल क्यानभासमा कोरिएको
अव्स्ट्र्याक चित्रजस्तै !
जसभित्र हामी सवैका अनुहार छन !

असंख्य दावीहरूको भिडमा
एउटा अलि जव्वर दावी छ
त्यो दावी यस्तो छ –
चुनवाङको चुनढुङ्गामा चिप्लिएर
हामी झ्वाम्म खस्यौं दिल्लीमा
र त्यहाँको पानीपुरी खाएर
शान्तिको गीत गाउँदै
हामी आइपुगेका हौं कान्तिपुरी !

चिप्लिन त असंख्य पटक चिप्लियौं हामी
तर,
सवैभन्दा ज्यानमारा चिप्ल्याइँ
चुनवाङको चुन ढुङ्गाकै हो !

चुनवाङ –
अर्थात हामी चिप्लिएको ठेगाना !

प्रतिक्रियाहरु