‘ विद्रोह गर्न बाध्य नबनाऊ’

२०७६ चैत्र १६ गते, आईतवार

काठमाडौं , १६ चैत । नेपाल कम्युनिस्ट पार्टीले कोरोना सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले हठात् घोषणा गरेको लकडाउनका कारण श्रमजीवी वर्ग भोकभोकै मर्ने अवस्था उत्पन्न हुन थालेकाले दैनिक काम गरेर खाने मजदुर, किसान, सुकुमबासीका लागि तत्काल सहायता उपलब्ध गराउन माग गरेको छ ।

नेकपाका इलाम जिल्ला इन्चार्ज हिमालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले श्रमजीवी जनतालाई जीविकोपार्जनको व्यवस्था गरेन र जनता भोकभोकै मर्ने अवस्था उत्पन्न भयो भने जनविद्रोहको अवस्था आउने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्नुपर्ने धारणासमेत राखेका छन् ।

हिमालले विज्ञप्तिमा भनेका छन्, ‘महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै आम न्यायप्रेमी जनसमुदायको हकहित र अधिकारका लागि सशक्त रुपमा आवाज उठाएको यहाँहरूलाई सर्वविदितै छ ।

नेपाललगायत विश्वभरि यतिबेला कोरोना भाइरस लाखौँलाख मानिसहरूमा सङ्क्रमित भई हजारौँको सङ्ख्यामा मृत्युको सिकार भइसकेका छन् । हाम्रो पार्टीका केन्द्रीय महासचिवले विज्ञप्तिमार्फत नेपालमा सङ्क्रमित महानुभावलाई शीघ्र स्वास्थ्यलाभको कामनासहित तत्काल उपचारलाई तीव्रता दिन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै उक्त भाइरसमुक्त नभएसम्म आफ्नो पार्टीको प्रतिरोध सङ्घर्षबाहेक सम्पूर्ण कामकारबाहीहरू स्थगित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई जनताको रेखदेख तथा उपचारमा अहोरात्र लाग्न निर्देशन दिनुभएको छ ।’

विज्ञप्तिमा उनले भनेका छन्, ‘सरकार यतिबेला निरीह बनेको छ । सरकार चलाउने पार्टी होस् वा चुनावमा भाग लिने पार्टीका नेता आफू पहिला बाँच्न घरमा लुकेर बसेका छन् । चुनावको बेलामा टिसर्ट, तेल, मोटरसाइकल बाँड्ने, जाँडरक्सी खुवाएर करोडौँ सक्नेहरू आज २/४ हजारको माक्स किनेर बाँड्नु त कता हो कता जनतासामु पनि देखासम्म परेका छैनन् । यही मौका छोपेर दैनिक उपभोग्य सामग्रीहरूको कृत्रिम अभाव उत्पन्न गरी कालोबजारी मौलाएको मात्रै होइन, महँगी दिनमा एक गुणा रातमा तीन गुणा बढेको छ ।’

इन्चार्ज हिमालको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘सरकारले राम्रो सूचना प्रवाह नगरी एक्कासि लकडाउन गर्नाले हुनेखाने, दलाल र भ्रष्टाचारीहरूलाई त सहजै भयो तर बिहान खाएर दिउँसो ज्यालामजदुरी गरी बेलुका खानेलाई, सुकुमबासी, मजदुर, किसानका लागि भने झन् काल बनेर आएको छ । हुनेखानेका लागि दसैँ भएको छ भने हुँदा खानेको लागि भोक नै काल बनेको छ यतिबेला । इलाम जिल्लामा पनि ठूलो सङ्ख्यामा मजदुर–किसान र सुकुमबासी रहेकाले सरकारले तुरुन्तै सम्बोधन गर्नुपर्छ । भोकको कारणले जनताको मृत्यु हुन गयो भने जनताको बाँच्न पाउने अधिकारबाट विद्रोहको नेतृत्व लिन हाम्रो पार्टीको विकल्प छैन । विश्वमा समाजवादीहरू जनताका जुनसुकै समस्याहरूको समाधान गर्न अघि बढेकाले नेपालमा पनि जनता बचाऔँ अनि आफू बाँचौँ, सचेत बनौँ ।’

प्रतिक्रियाहरु