हामीलाई पाखा लगाए संविधान च्यातिन्छ : किरण

२०७१ भाद्र ३ गते, मंगलवार


काठमाडौ । सहिद रामवृक्ष यादवको २० औं स्मृति दिवसका अवसरमा पार्टीको धनुषा जिल्ला कार्यसमितिद्वारा जनकपुरमा आयोजित अन्तरक्रियामा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माओवादीलाई पाखा लगाएर बनाइने संविधान आफूहरूले च्यातेर फाल्ने बताएका छन्।
कांग्रेस र एमाले साझेदार सरकारले पुरानै परिपाटी र मूल्यमान्यतालाई कायम राखेर जनताको हकअधिकार प्रत्याभूति हुन नसक्ने संविधान ल्याउने प्रयास गर्‍यो भने आफूहरूलाई कुनै हालतमा मान्य नहुने किरणले बताए।
जनताको बलिदानीबाट प्राप्त संविधानसभामा बाह्‍य हस्तक्षेपका आधारमा संविधान लेखिएमा र त्यसमा शोषितउत्पीडित नेपालीको मुद्दालाई समावेश नगरिएमा त्यस्तो संविधान जनतालाई स्वीकार्य नहुने किरणको भनाइ थियो।गोलमेच सम्मेलन गरी राष्ट्रिय सहमतिका आधारमा संविधान ल्याइएन भने त्यसको विरोधमा ठूलो आन्दोलन सुरु हुने किरणले बताए।
कार्यक्रममा सहभागी पार्टीका महासचिव रामबहादुर थापा ‘बादल’ ले नेपाली अहिले पनि पूर्ण रूपमा स्वतन्त्र नभई बाह्‍य शक्ति को दास रहेको धारणा राखेका थिए।राजतन्त्र समाप्‍त भएपछि देश पूर्ण रूपमा स्वतन्त्र हुने सपना जनताले देखेको भए पनि अहिले आएर देशमा ठूला पार्टी र राजनेता भनाउनेहरूले साम्राज्यवाद र विस्तारवादअगाडि आत्मसर्पण गरेर गणतन्त्रलाई ओझेलमा पारेको नेता थापाको भनाइ थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु