हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउन सुरु

२०७३ चैत्र ५ गते, शनिबार

काठमाडौं, ५ चैत । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान शुरु भएको छ । आजदेखि र सोमबारसम्म भोजपुर, इलाम, धनकुटा, तेहथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत दैलेख, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्जुलामा औषधी खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आउँदो १७ देखि १९ गतेसम्म भने झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा औषधि खुवाइने सरकारले जनाएको छ । दुई चरणमा खुवाइने हात्तीपाइले रोगविरुद्धको औषधि ढुक्क भएर खान सरकारले आग्रह गरेको छ । तर दुई वर्ष नपुगेका केटाकेटी, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीलाई भने यो औषधि नखान मन्त्रालयले सुझाएको छ । अरु व्यक्तिले खानासँगै वा खानापछि यो औषधी खान सक्ने बताइएको छ । स्वास्थ्यकर्मी वा घर घरमा औषधि खुवाउन पुगेका स्वास्थ्यकर्मीसँग आफ्नो स्वास्थ्यबारे जानकारी गराएर औषधी खान हुने÷नहुने निर्णय लिन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । हात्तीपाइले रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले टोक्दा लाग्ने गर्दछ । यो शारीरिक अशक्त र अपांग बनाउने सरुवा रोग हो ।

प्रतिक्रियाहरु