‘हरेक प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सक्षम छ तर धैर्य चाहिन्छ’

२०७५ आश्विन २५ गते, बिहीबार

काठमाडौं, २५ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई नमूना सङ्गठनका रुपमा विकास गर्न आफू लागिरहेको बताएका छन । ६३ औँ प्रहरी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने – ‘हरेक प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सक्षम छ, घटनाको अनुसन्धानका लागि समय र धैर्यता आवश्यक छ ।’ महानिरीक्षक खनालले मुलुकको शान्ति सुरक्षाका लागि सबैले आआफ्नो क्षेत्रबाट प्रहरीलाई सहयोग गर्नुपर्ने बताए । सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले दैनिक १८ घण्टा मुलुक र जनताको सेवा गरेको उल्लेख गरे । गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे गृहप्रशासन सुधार योजनालाई कार्यान्वयन गर्दै आगामी दिनमा नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रहरी प्रधान कार्यालय लागिरहेको उनको भनाइ थियो ।
६३ औँ प्रहरी दिवसका अवसरमा आज ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहले राजनीतिक क्षेत्रबाट प्रहरी सङ्गठनलाई अलग राख्न सके मात्र प्रहरीले सोचेअनुसारको काम गरेर नतिजा दिनसक्ने बताए ।

प्रतिक्रियाहरु