हरिया झिँगाहरू – बलराम तिमल्सिना

२०७५ आश्विन २३ गते, मंगलवार

एकादेशमा हरिया झिँगाहरू रहेछन । हरिया झिँगाहरूले सरकार पनि बनाएछन। झिँगाहरूको सरकार प्रमुखले एक दिन झिँगाहरूलाई जम्मा गरेर भनेछ- माकाफुइँहरू ! खाली झिँगालेजस्तो सत्ताको वरिपरि घुमेको छ भुनभुनाएको छ ! यसरी सरकार चल्छ ? सवैले हाम्रो सरकारलाई असफल पार्न षडयन्त्र गरेका छन ।कसैलाई मतलव छैन ।खाली पद मागेको छ पैसा मागेको छ । मैले कहाँबाट दिने पद ? कहाँबाट दिने पैसा ? पैसाको बोट छ मसँग ? जाऊ पैले कालो अरिङ्गाल भएर सरकारको विरोध गर्नेलाई चिल र सोत्राम पार । त्यसपछि बल्ल आऊ ! सरकार प्रमुख झिँगाको कुरा सुनेर कार्यकर्ता झिँगाहरू रनभुल्लमा परेछन । लु अव जन्मजात झिँगा कसरी अरिङ्गाल बन्ने होला भनेर खुव पिरोलिएछन। तै पनि आफ्नो प्रमुखको आदेश भएपछि झिँगाहरू अरिङ्गालको भेष धारण गरेर विरोधीलाई चिल्न हिडेछन। जति चिले पनि एउटा पनि विरोधीले ऐया बनेनछ। वरु प्याट्ट पारेर कैयन झिँगाहरूलाई उत्ताने पारिदिएछन। आफ्ना ऐरे गैरेहरूलाई विरोधी चिल्न पठाएपछि हताहतीको खवर सुन्न सरकार प्रमुख झिँगो टेलिभिजन अगाडि राखेर बसेछ ।कैयन दिन समाचार सुन्दा पनि कार्यकर्ता अरिङ्गालले चिलेर यौटा पनि विरोधीको हताहती भएको खवर नसुनेपछि प्रमुख झिँगाले फेरि सवैलाई जम्मा पारेर नयाँ उर्दी जारी गर्दै भनेछ- ” माकाफुइँ हो ! तिमी झिँगाहरूलाई मैले अरिङ्गाल बनाउन खोजेर ठूलो गल्ति गरें ।तिमीहरू अव मौरीको रुप धारण गर र पैले देशभरिका फूलहरूबाट मह जम्मा गर ।मनग्गे जम्मा गरेपछि अनि बसी बसी मह खाउला । प्रमुखको आदेश पालना गर्दै झिँगाहरू सवै देशै भरि उडेछन र फूल फूलमा बसेछन।सँधै दिसा पिसावमा र फोहरमा बसेको बानी परेका झिँगाहरूलाई फूलमा बस्ना साथ भाउन्न भएछ। थरि थरिका फूलका बासना झिँगाहरूलाई फिटिक्कै मन परेनछ। दिसा पिसावको गन्धमा अभ्यस्त झिंगाहरूका नाकले फूलको गन्ध पटक्कै पचाएनछ र उनीहरू भागेर दिसा पिसावमै पुगेछन। कार्यकर्ताहरूले मह जम्मा गर्लान र बसी बसी उपर्खुट्टी लगाएर खाउँला भनेर पर्खेको मूख्य झिंगो पनि पर्केर हैरान भएछ ।जति दिन पर्खे पनि एउटाले पनि मह नल्याएपछि उसले छानविन गर्न केही झिंगाहरूको छानविन समिति बनाएछ।छानविन समितिले आफ्ना कार्यकर्ताहरूको ऐतिहासिक पृष्ठभूमि र चरित्र अनुसार उनीहरू कुनै हालतमा अरिङ्गाल र माहुरी बन्न नसक्ने वरु झिंगालाई झिंगाकै काम दियो भने नाम अनुसारको काम पनि हुने र सरकारको समृध्दिको सपना सोचेकै समयमा पूरा गर्न सकिने प्रतिवेदन बुझाएछ ।त्यसपछि झिंगा प्रमुखले फेरि यौटा झिंगे-भेला आयोजना गरेछ र आदेश दिएछ – तिमी माकाफुइँहरू फेरि झिंगा नै बन्नु । आखिर झिंगाका कार्यकर्ताहरूलाई अर्थोक बनाउन खोजेर गल्ति मैले नै गरें। अव कहिलै यस्तो निर्देशन हुने छैन ।” झिंगा प्रमुखको नयाँ निर्देशन पछि भेलामा गडगडाहट ताली बजेछ र सवैले नारा लगायछन-
हाम्रा झिंगे प्रमुख -अमर रहुन !
झिंगा झिंगा -एक हौं
झिंगाहरूको सरकार- जिन्दावाद
सम्पूर्ण झिंगा विरोधीहरू- मुर्दावाद !
वेलुका टेलिभिजनले झिंगाहरूको भेला भव्य र शानदार रुपमा सफल भएको समाचार प्रसारण गरेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु