‘हतियार भेटिएको प्रचारवाजी पार्टीलाई दमन गर्ने योजनाबद्ध षड्यन्त्र ‘

२०७६ मंसिर १ गते, आईतवार

काठमाडाैँ , १ मंसिर । सरकारले कपिलवस्तुको शिवनगर नगरपालिका वडा नं. १ बाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरिएको र उक्त हतियार नेपाल कम्युनिस्ट पार्टीको भएको प्रचारवाजी सुनियोजितढंग र पार्टीलाई दमन गर्ने योजनाबद्ध षड्यन्त्ररुपमा आएको नेकपाले ठोकुवा गरेको छ । उसले भ्रमपूर्ण, कपोलकल्पित, नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी गरे भन्दै आपत्ति समेत जनाएको छ । सो पार्टीका राप्ती ब्युरो इन्चार्ज समरले विज्ञप्ति जारी गर्दै उक्त हतियार पार्टीमाथि दमन गर्ने सरकारी षड्यन्त्रबमोजिम आफैँले राखेर भ्रमपूर्ण प्रचार गराएको जनाएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘सामाजिक दलाल केपी वली–प्रचण्ड सरकार राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा दिनदिनै बदनाम र पतीत बन्दै विघटनको दिशातिर उन्मुख छ । आफ्ना काला हर्कतहरू ढाकछोप गर्न वली सरकार नियोजित रूपमा नेपाल कम्युनिस्ट पार्टीमाथि दमनका अनेक खालका षड्यन्त्र गरिरहेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसैक्रममा २०७६ साल कात्तिक ३० गते कपिलवस्तुको शिवनगर नगरपालिका १ बाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरिएको भनी गराइएको भ्रमपूर्ण, कपोलकल्पित, नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’ समरले विज्ञप्तिमा भनेका छन्, ‘नेकपामाथि दमन गर्ने सरकारी षड्यन्त्रअनुरूप त्यसप्रकारको नियोजित, भ्रमपूर्ण र कपोलकल्पित प्रचार गराइएको र यसप्रकारका षड्यन्त्र नगर्न चेतावनी दिन चाहन्छौँ । नेकपामाथि दमन गर्ने योजनाअनुरूप प्रहरी आफैँले उक्त हतियारहरू राखेर भ्रमपूर्ण प्रचार गराएको पनि स्पष्ट पार्न चाहन्छौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु