हङकङमा आन्दोलन चर्कियो

२०७१ आश्विन २९ गते, बुधबार


काठमाडौं, २९ असोज । हङकङमा प्रदर्शनरत आन्दोलनकारीमाथि प्रहरीले धरपकड गर्दा थुप्रै घाइते भएका छन् ।पूर्ण प्रजातन्त्रको माग गर्र्दै सरकारी भवन अगाडि धर्नामा बसेका प्रदर्शनकारीहरुलाई हटाउने क्रममा भएको झडपमा प्रदर्शनकारीहरु घाइते भएका हुन् ।
प्रहरीले प्रयोग गरेको पेपर स्पे्रका कारण उनीहरु घाइते भएका हुन् । प्रदर्शनमा अधिक मात्रामा बिद्यार्थी र लोकतन्त्र समर्थक समूहका कार्यकर्ताहरु रहेका छन् । झडपकै क्रममा ५० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हङकङको कार्यकारी प्रमुखका लागि चीनले उम्मेदवार तोक्ने प्रथा अन्त्य गर्नुपर्ने माग गर्दै तीन सातादेखि त्यहाँ प्रदर्शन भइरहेको छ । सन् २०१७ मा हुने निर्वाचनमा कुन उम्मेदवारले भाग लिने भन्ने विषय हङकङकै बासिन्दाले तय गर्न पाउनुपर्ने उनीहरुको माग छ । अहिलेसम्म चीन सरकारले बनाउने कमिटीले नै कुन उम्मेदवारले भाग लिन पाउने भन्ने निर्णय गर्ने गरेको छ । आफूहरुको माग पूरा नभएसम्म प्रदर्शनजारी रहने प्रदर्शनकारीहरुको अडान छ । प्रदर्शनकै कारण त्यहाँको जनजीवन अस्तव्यस्त बन्नुका साथै ब्यापारमा पनि गहिरो असर परेको छ । – एजेन्सी

प्रतिक्रियाहरु