स्वास्थ्य शिविरमा परिवार नियोजन गराएका ८ महिलाको ज्यान गयो

२०७१ कार्तिक २५ गते, मंगलवार


काठमाडौँ । भारतको छत्तीसगढमा स्वास्थ्य शिविरमा परिवार नियोजन गराएका ८ जना महिलाको ज्यान गएको छ । विलासपुरमा केन्द्रिय परिवार नियोजन कार्यक्रम अन्तर्गत सोमबार संचालन गरिएको शिविरमा परिवार नियोजनको शल्यक्रिया गराएका महिलाको ज्यान गएको बिबिसीले जनाएको छ । अरु धेरै महिलाको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।
शल्यक्रिया गर्नुपूर्व दिइएको औषधि खाएपछि महिलाहरुलाई वाकवाक लाग्न सुरु भएपनि चिकित्सकले बेवास्ता गरेको स्थानीयबासिन्दाको आरोप छ । उनीहरुले परिवार नियोजनको सरकारी लक्ष्य पुरा गर्न जिल्ला अस्पतालका एकै चिकित्सकले ८३ जना महिलाको शल्यक्रिया गरेको बताएका छन् । विलासपुर जिल्ला चिकित्सक अधिकारीले भने महिलाको मृत्युको कारण पोस्टमार्टमपछि मात्रै थाहा हुने बताएका छन् ।
यस घटनाबाट आक्रोशित स्थानीयले राज्यका स्वास्थ्यमन्त्री अमर अग्रवालको निवास घेराउ गर्दै प्रदर्शन गरेका छन् भने प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको छ । काँग्रेस पार्टीले घटनाको विरोध गर्दै निष्पक्ष छानबिनको माग गरि विलासपुर बन्दको घोषणा गरेको छ ।
यसैबीच, छत्तिसगढ राज्यका मुख्यमन्त्री रमन सिंहले यो घटनाको बारेमा जाँच गर्न निर्देशन दिनुभएको छ भने छानबिन समिती पनि गठन गरिएको छ ।

प्रतिक्रियाहरु