स्वास्थ्य शिक्षा क्षेत्रमा रहेका विकृति–विसङ्गति अन्त्य गर्न माग

२०७५ माघ ३ गते, बिहीबार

काठमाडाै, २ माघ । नेकपा निकट अखिल (क्रान्तिकारी) ले स्वास्थ्य शिक्षा क्षेत्रमा रहेका विकृति–विसङ्गति अन्त्य गर्न सरकारसँग चारबुँदे माग राखेको छ । अखिल क्रान्तिकारीले त्रिविबाट सम्बन्धन प्राप्त अधिकांश मेडिकल कलेजहरूले तोकेको भन्दा विभिन्न शीर्षकमा बिनारसिद लाखौँ रकम बढी अवैधानिक तवरले विद्यार्थीबाट लिएकाले उक्त रकम तत्काल फिर्ता गरी मापदण्डविपरीत चल्ने मेडिकल कलेजहरूलाई कारबाही गर्न माग गरेको छ । यसैगरी नेपाली विद्यार्थीहरूका लागि भनी खोलिएका मेडिकल कलेजहरूले आर्थिक मुनाफालाई मात्र केन्द्रमा राखी मनपरी सङ्ख्यामा विदेशी विद्यार्थी भर्ना गरेकोमा आगामी वर्षदेखि बढीमा दस प्रतिशत मात्र विदेशी विद्यार्थी भर्ना गर्न पनि अखिल (क्रान्तिकारी) ले माग गरेको छ । अखिल (क्रान्तिकारी) ले छात्रवृत्तिमा भर्ना भएका विद्यार्थीबाट विभिन्न शीर्षकमा लाखौँ रकम असुल्ने गरेको र सोही कारण गण्डकी मेडिकल कलेज, नेसनल मेडिकल कलेजलगायत कलेजमा विद्यार्थी पढ्न नसक्ने अवस्था आएकोमा त्यस्ता कलेजहरूको सम्बन्धन खारेजी प्रक्रिया सुरु गर्न र विश्वविद्यालयको नियमावलीअनुसार मेडिकल कलेजको शैक्षिक तथा भौतिक गुणस्तर कायम गर्न पनि माग गरेको छ । सङ्गठनका महासचिव प्रकाश शाहीले बुधबार पेस गरेको मागपत्रमा यसअघि सङ्गठनसँग गरिएको सम्झौता एक साताभित्र पूरा नगरिए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ ।
यसैबीच , अखिल (क्रान्तिकारी) ले कान्तिपुर डेन्टल कलेजमा तालाबन्दी गरेको छ । काठमाडौँ विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त उक्त कलेजमा क्रान्तिकारीले तालाबन्दी गरेको हो । अखिल (क्रान्तिकारी) ले कलेजमा अध्ययनरत पेइङ र छात्रवृत्तिका विद्यार्थीसँग नियमविपरीत शुल्क लिएको, प्रत्येक परीक्षाअगाडि विद्यार्थीलाई शुल्कका नाममा चरम यातना दिएको, चिकित्सा शिक्षालाई नित्तान्त व्यापारको विषय बनाएको, जनताको पहुँचभन्दा बाहिर मेडिकल शिक्षा भएको, मेडिकल शिक्षा व्यापारीकरण र माफियाकरणतर्फ उद्यत भएको भन्दै कलेजमा तालाबन्दी गरेको जानकारी अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाहीले बताए ।

प्रतिक्रियाहरु