स्वास्थ्यका ११ हजारलाई स्वेच्छिक अवकाश

२०७१ पुष १८ गते, शुक्रबार

काठमाडौ । स्वास्थ्य संस्थामा जनशक्तिको अभाव भइरहेका बेला सरकारले भने स्तरवृद्धि भएर पनि पदस्थापना हुन नसकेका स्वास्थ्यकर्मीलाई स्वेच्छिक अवकाश दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्तरवृद्धि भएर पनि पदस्थापना नभएका अहेव, हेल्थ असिस्टेन्ट, अनमी, ग्रामीण स्वास्थ्य कार्यकर्तालगायत ११ हजार स्वास्थ्यकर्मी विभिन्न स्वास्थ्य संस्थामा कार्यरत छन्।
चौथोबाट पाँचौं र पाँचौंबाट छैटौंमा तहमा स्तरवृद्धि भएका ती कर्मचारीको पदस्थापनाका लागि मन्त्रालयले पटकपटक निर्णय गरे पनि कार्यान्वयन हुन नसकेपछि अहिले उनीहरूलाई स्वेच्छिक अवकास दिने निर्णय गरिएको हो।
व्यवस्थापन पक्षले समयमै स्तरवृद्धि भएका स्वास्थ्यकर्मीको पदस्थापनाका लागि गम्भीरता नदेखाउँदा यस्तो अवस्था आएको हो। मन्त्रालयले स्वास्थ्य सेवा ऐन आएपछि २०५३ सालमा उनीहरूको स्तरवृद्धि गरेको थियो।
‘लामो समय एकै ठाउँमा बसेर सेवा दिएकालाई अब पदस्थापन गर्दा उनीहरूलाई नै असहज हुने देखियो’, मन्त्रालय कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम बिष्टले भने, ‘उहाँहरूकै सुविधा लागि हामीले स्वेच्छिक अवकाशको व्यवस्था मिलाएका हौं।’
बिष्टका अनुसार २० वर्ष निरन्तर सेवा गरेका र ५० वर्ष उमेर नाघेका तर स्तरवृद्धि भएर पनि पदस्थापना हुन नसकेकाले अवकाश लिने पाउनेछन्। बिष्टका अनुसार कसैले स्वेच्छिक अवकाश लिने निर्णय गरेमा निवृत्तिभरण पाउन सक्ने अवस्था भएका र ६० वर्ष उमेर ननाघ्ने गरी बढीमा सात वर्ष नोकरी अवधि थप गरी एकमुष्ठ निवृत्तिभरण पाउनेछन्।
स्रोतले भने अहिले पनि उनीहरूलाई तालिम दिएर रिक्त दरबन्दी भएको स्थानामा खटाउन सकिने भए पनि मन्त्रालयले त्यो झन्झट बेहोर्न नचाहेको बतायो।

प्रतिक्रियाहरु