स्वाइनफ्लुबाट महिलाको मृत्यु

२०७१ फाल्गुन १७ गते, आईतवार

काठमाडौ, १७ फागुन । बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा स्वाइन फ्लुको संक्रमणबाट एक महिलाको ज्यान गएको छ । मोडल अस्पतालमा उपचाररत ४८ वर्षीया महिलाको शनिबार साँझ ज्यान गएको हो ।रुघाखोकी र ज्वरो आएपछि दुर्इ हप्ताअघि मोडल अस्पतालमा भर्ना भएकी उनी काठमाडौंकै बासिन्दा रहेको अस्पतालले जानकारी दिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले ती महिलाको ज्यान गएको जानकारी अस्पतालले दिएको बताए ।
सन २०१४ मा पनि स्वाइनफ्लुले नेपालमा १८ जनाको मुत्यु भएको थियो । पछिल्लो समय भारतमा संक्रमणको रुप लिएको स्वाइन फ्लुले ९ सय जनाको मृत्यु भएको छ । भारतबाट फैलिएको फ्लु खुला सिमाका कारण भारतबाट नेपाल आउने नागरिकबाट सजिलै सरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
सरकारी तथ्याङ्कअनुसार काठमाडौमा ५ र पोखरामा ३ गरी ८ र अन्य जिल्लामा गरी हालसम्म १७ जनामा स्वाइनफ्लुको जिवाणु भेटिएको छ । सुंगुरबाट मानिसमा सर्ने स्वाइन फ्लु भाइरस पछिल्लो दिनमा मानिसबाट मानिसमा सर्न थालेको हो ।
चिकित्कसहरु स्वाइन फ्लुलाई एच१एन१ ए अर्थात इन्फ्लुएन्जा ए भन्ने गर्छन् । टाउको दुख्नु, रुँघा लाग्नु, पातलो सिँगान बग्नु, ज्वरो आउनु, श्वासप्रस्वासमा समस्या आउनु,वाकवाकी लाग्नु जस्ता स्वाईनफ्लुका लक्षणहरु हुन् ।

प्रतिक्रियाहरु