स्ववियु निर्वाचन सर्‍यो

२०७३ फाल्गुन ५ गते, बिहीबार

काठमाडौं, ५ फागुन । प्रमुख तीन दल र माओवादी निकट विद्यार्थी संगठनबीच आज भएको छलफलमा स्ववियु निर्वाचन केही दिने सार्ने समझदारी भएको छ । छलफलमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुकी अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपाने र माओवादी निकट अखिल क्रान्तिकारीका नेता सहभागी थिए । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्धारित मिति फागुन १४ मै स्ववियु चुनाव गर्ने निर्णयविपरीत तिनै दलका विद्यार्थी संगठनको बैठकले पाँच दिन निर्वाचन सार्ने समझदारी बनाएको हो ।
विद्यार्थी संगठनहरुबीच भएको समझदारीपछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफल गरी निर्वाचनको नयाँ मिति घोषणा हुने बताइएको छ । विभिन्न क्याम्पसमा तालाबन्दी र माओवादीको विद्यार्थी संगठनले चुनाव सार्न गरेको आग्रहअनुसार चुनाव हुने सर्तमा पाँच दिन सार्ने सैद्धान्तिक सहमति भएको विद्यार्थी नेताहरुले बताएका छन् ।
यसैबीच त्रिभुवन विश्वविद्यालयले प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा बोलाएको छ । त्रिविसँगको छलफलपछि आजै निर्वाचनकोनयाँ कार्यतालिका सार्वजनिक हुनसक्ने बताइएको छ । विद्यार्थी संगठनहरुबीचको विवादका कारण फागुन १४ गते हुने भनिएको निर्वाचनको तालिकासमेत प्रभावित भएको छ । पहिलेको तालिकाअनुसार आज देशैभरका क्याम्पसमा उम्मेदवारी दर्ता गर्नुपर्ने थियो । तर केही विद्यार्थी संगठनको विरोध र क्याम्पसहरुमा लगाइएको तालाबन्दीका निर्वाचन सार्न बाध्य हुनुपरेको विद्यार्थी नेताहरुको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु