स्वर्गको लागि खतरा – बलराम तिमल्सिना

२०७७ असार ५ गते, शुक्रबार

एक जना मान्छे पनि
बचुन्जेल भोकै सुतेको
ऊ खतरा हो स्वर्गको लागि
ऊ भोकको निद्राबाट ब्युँझन सक्छ
र सुखको स्वर्गमा आगो झोस्न सक्छ
ए स्वर्गबासीहरू हो,
भोकलाई जीवितै राखेर धरतीमा
तिमीहरू मस्त ननिदाए हुन्छ !

एकातिर छ मुठ्ठीभरको स्वर्ग
अर्कोतिर छ बहुजनको नरक
तातो कराहीबाट उफ्र्यो भने मान्छे
अधपिल्ठो शरीर लिएर
ऊ सिधै स्वर्गको ढोकामा आइपुग्ने छ
तिमीले ढोका नखोलेर के भो
उसले ढोका फुटाउने छ
र तिम्रो सुख-शान्ति भाँड्ने छ
तिम्रो सुख-शान्ति वाँड्ने छ
स्वर्ग हरेक पल खतरामा छ
स्वर्ग नरकबाट खतरामा छ !

तिम्रो लागि सुख उत्पादन गरेर
दुखै दुखमा वाँच्न विवस
नरकका बासिन्दाहरू उठेपछि
तिम्रो स्वर्ग दुई दिनमा ढल्छ
किन कि
स्वर्गका चारै कुनामा
काँध थाप्ने काँधहरू नरक बासीका छन्
उनीहरूले काँध छोडे भने के हुन्छ ?

स्वर्ग खतरामा छ
स्वर्ग स्वर्ग भएकोले खतरामा छ
नरक हर पल बागी विद्रोही छ
नरक नरक भएकोले बागी बिद्रोही छ
तिम्रो ऐयासी, अल्छी
कायर र कप्टी राजमा
नरकका बासिन्दा छिरे भने के हुन्छ ?

स्वर्ग सँधै खतरामा छ
नपत्याए हेर
स्वर्गका हरेक ढोकामा
पाले पहरा खटाइएको छ
नरक बासिन्दाको डरले
नरकका बासिन्दाहरू
बिना पर्खाल
बिना ढोका पनि
निस्फिक्री निदाइदिन सक्छन्
नरकलाई कुनै खतरा छैन
किन भने
नरकभन्दा दुखको
अर्को कुनै संसार छैन
नरकसँग गुमाउनको लागि केही छैन !

स्वर्गका बासिन्दाहरू हो,
स्वर्ग खतरामा छ
तिम्रो स्वर्गिय आनन्द खतरामा छ
तिम्रो ओठको हाँसो खतरामा छ
तिम्रा हरेक खुसीहरू खतरामा छन्
यो धरतीमा बचुन्जेल
एउटा पनि भोको मान्छे
तिम्रो स्वर्ग हरपल खतरामा छ
भोको मान्छे रिसायो भने
उसले तिम्रो स्वर्ग नै खाइदिन सक्छ !

प्रतिक्रियाहरु