‘स्पोन्सर कोटा’को भर्ना प्रक्रियामा अनियमितताको ‘पुष्टि’

२०७३ आश्विन ८ गते, शनिबार

काठमाडौं, ८ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्ट ग्य्राजुएट (पीजी) ‘स्पोन्सर कोटा’को भर्ना प्रक्रियामा अनियमितता भएको पुष्टि भएको छ । भर्नामा अनियमितता भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्यमन्त्री गगनकुमार थापाले तत्काल छानबिनका लागि चिकित्सा सेवा महाशाखाका निर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित समितिले भर्ना गर्दा कार्यविधि उल्लंघन गरेको प्रतिवेदन बुझाएको छ ।
समितिले धरानमा गरेको अनुसन्धानकाक्रममा भर्नाकाक्रममा कार्यविधि नअपनाइएको, प्रक्रियासंगत नभएको, उत्कृष्ट प्राप्तांकका आधारमा भर्ना प्रक्रिया नभएको भेटेको थियो ।
मन्त्री थापाले प्रतिवेदनबारे जानकारी लिएपछि शुक्रबार नै प्रतिष्ठानका रजिस्ट्रार र मेडिकल काउन्सिलका अध्यक्षलाई मन्त्रालयमा बोलाएर के–कति कारणले अनियमितता भयो भनी स्पष्टीकरण सोधेको मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।
मन्त्री थापाले प्रतिष्ठानका पदाधिकारीलाई स्पष्टीकरण सोध्ने र भर्ना प्रक्रिया स्थगन गर्न निर्देशन दिने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
छानबिन समितिको प्रतिवेदनमा प्रतिष्ठानले पूर्वाधारबिना आफैं दरबन्दी निर्धारण गरी विद्यार्थी भर्ना गरेको पनि भेटिएको छ ।
मन्त्री थापाले आउँदो सिनेट बैठकमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षामा काउन्सिल ऐनअनुसार ५० प्रतिशत प्राप्तांक ल्याउनुपर्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
प्रतिष्ठानका कर्मचारीले भर्ना प्रक्रियामा अनियमितता भएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल मेडिकल काउन्सिल र डा. गोविन्द केसीसमक्ष उजुरी दिएका थिए ।
उजुरीमा प्रतिष्ठानको कार्यकारी समितिले तीन विद्यार्थीको भर्ना गर्नुपूर्व काउन्सिलका लागि सूचना ननिकालेको, शिक्षाध्यक्षको सिफारिसमा उपकुलपतिले भर्नाका लागि सीधै स्वीकृति दिएको, विद्यार्थीले उच्च प्राप्तांक नपरेको, प्रवेश परीक्षा सम्पन्न भएपछि परामर्शका समयमा सार्वजनिक गरिएको दरबन्दी संख्याभन्दा बढी विद्यार्थी भर्ना गरिएकोलगायत आरोप लगाइएको थियो । – रासस

प्रतिक्रियाहरु