स्थानीय सरकारकै संलग्नतामा अवैद्य ढुंगा/बालुवा निकासी !

२०७५ श्रावण १५ गते, मंगलवार

काठमाडौं, १५ साउन । स्थानीय सरकारकै मिलोमतोमा रामेछापको मन्थली नगरपालिका–१ स्थित तामाकोसीको किनारमा अवैद्य ढुंगा तथा बालुवा निकासीले तीव्रता पाएको छ । पछिल्ला वर्षहरुमा नदी किनारामा रहेका बालुवा तथा ढुंगा निकासी समस्याका रुपमा देखा पर्न थालेको छ । असार, साउन र भदौ महिनामा बाढी र कटानको जोखिम रहने भएकै कारण सरकारले ढुंगा/बालुवा निकासीलाई रोक लगाउने निर्णय गरेको थियो । तर, नदी खोल्ने नाउमा स्थानीय प्रशासन र मन्थली नगरपालिकाको मिलोमत्तोमा नै सरकारी निर्देशनको अवज्ञा भएको प्रष्टै देखिन्छ । मन्थली नगरपालिकाले मौखिक रुपमा अनुमति दिएपछि मन्थली बालुवा प्रशोधन केन्द्र मन्थलीले तामाकोसी किनारको ढुङ्गा, गिटी तथा बालुवा निकाल्ने काम गर्दै आएको छ ।
बर्षातको समयमा आएको वाढीले आसपासको वस्ती र जमीन कटान गर्न सक्ने सम्भावनालाई बढाउने भन्दै स्थानीय भने चिन्तित देखिएका छन् । निजी कम्पनीले एक्साभेटर लगाएर ट्रिफरमा ढुङ्गा, गिटी र बालुवा ओसार्ने काम गरेको छ । स्थानीय रणजोर खोला र तामाकोसी नदी मिसिएको दोभानमा खोलाले ल्याएको बगरले कोशी थुनेको कारण देखाइएको छ, ढुंगा/बालुवा निकासीका लागि । अवैध रुपमा भइरहेको नदीजन्य बस्तुको दोहनलाई नगरपालिकाले तत्कालन रोक्नु पर्ने स्थानीय राजनीतिक दलको भनाई छ ।
मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेत भने विपद् न्युनिकरणका लागि ढुंगा/वालुवा निकासीका लागि अनुमति दिएको तर्क गर्छन । धन्दा चलाउने उद्देश्यले नभएर नदीलाई निकास दिने उद्देश्यले मात्र नदी किनारको बालुवा निकालिएको जिल्ला समन्वय समिति रामेछाप जनाएको छ । निजि निर्माण कम्पनीले नदी किनारमा इनार खनेझै खाल्टो खनेर गिटी बालुवा निकाल्ने गरेका छन् । यसले डुबान र कटानको समस्या बढाउने तर्फ कसैको ध्यान पुग्न सकेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु