स्थानीय तहको चुनाव हुनै नदिने निर्णय

२०७३ चैत्र ४ गते, शुक्रबार

काठमाडौं, ४ चैत । नेपाल कम्युनिस्ट पार्टीले आगामी बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको चुनाव हुन नदिने निर्णय गरेको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । रोल्पाको थवाङमा सम्पन्न पार्टीको महाधिवेसनपछि बसेकाे पूर्ण बैठक राजनैतिक र सांगठानिक निर्णय गर्दै सम्पन्न भएको बताइएको छ । बैठकले सरकारले आगामी बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको चुनाव हुनै नदिने निर्णय गरेको नेकपाका प्रवक्ता प्रकाण्डले बताए । चुनाव देश र जनताको आवश्यकताको विरुद्ध भएकोले औचित्यहीन भएको बैठकले निस्कर्ष निकालेको छ । पार्टीले जनसंविधानअनुरुप स्थानीय जनसत्ता सुदृढ बनाउने र संगठन विस्तार गर्ने निर्णय भएको उनले बताए । बिहीबार सम्पन्न बैठकले स्थानीय तहको चुनावमा जनतालाई सहभागी नहुन समेत आह्वान गर्ने निर्णय गरेको छ।
‘देशमा जनसंविधान र जनसत्ता जारी भइसकेको अवस्थामा र परिवर्तनका विरुद्धमा संसदीय व्यवस्थाले घोषणा गरेको प्रतिक्रियावादी चुनाव भएकोले यसलाई हुनै नदिने निर्णय बैठकले गरेको छ’ प्रवक्ता प्रकाण्डले बताए । त्यस्तै आगामी बैशाख ५ गतेबाट देशभर जनसभा गर्ने निर्णय गरको छ । बैशाख ५ गते कञ्चनपुरमा जनसभा गरिने भएको छ । विराटनगरलगायत मुख्य शहरहरुमा पनि जनसभा गर्ने भएको छ । साथै कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलले गरेको गोविन्द नेपाली हत्याको विरोध र सीमा रक्षाका लागि अपिल गर्न जनसभा आयोजना गर्न लागिएको प्रवक्ता प्रकाण्डले जानकारी दिए ।

प्रतिक्रियाहरु