सेनामा तेस्रोलिंगीलाई काम गर्न नदिने घोषणा

२०७४ श्रावण १२ गते, बिहीबार

काठमाडौं, १२ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रोलिंगी व्यक्तिलाई अमेरिकी सेनामा काम गर्न नदिने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् तेस्रोलिंगी व्यक्तिलाई अमेरिकी सेनाको कुनै पनि पदमा काम गर्न नदिने घोषणा गरेका हुन् । उनले वरिष्ठ सैनिक अधिकारीहरु तथा विज्ञहरुसँगको छलफलपछि सो निर्णय गरिएको जानकारी दिएका छन् । बाराक ओवामा राष्ट्रपति हुँदा अघिल्लो वर्ष अमेरिकी सेनामा तेस्रो लिंगीलाई काम गर्न दिइने निर्णय भएको थियो । तर राष्ट्रपति ट्रम्पले भने तेस्रो लिंगी व्यक्तिका कारण सेनामा औषधि खर्च तथा अन्य कारणले धेरै बोझ थप्ने जिकिर गरेका छन् ।
यसै महिनाको शुरुमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले ओबामा प्रशासनले तेस्रो लिंगीहरुलाई सेनामा भर्ना लिने भनी पेश गरेको योजना कार्यान्वयन गर्न ६ महिना ढिला गर्ने निर्णय गरेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु