सेतो हात्तीको सवारी – बलराम तिमल्सिना

२०७६ बैशाख २३ गते, सोमबार

जव सुरु हुन्छ
सेतो हात्तीको सवारी
बग्दा बग्दैको हावा रोकिन्छ
हिड्दा हिड्दैको पाइला रोकिन्छ
बोल्दा बोल्दैको शब्दलाई
केही समय घाँटीमै रोक्ने आदेश हुन्छ
खाँदा खाँदैको गाँस
साट्दा साट्दैको चुम्वन
गाउँदा गाउँदैको गीत
साराका सारा मुल्तवीमा पर्छन !

सेतो हात्तीको सवारी हुने सडकमा
मुर्दा शान्ति कायम गरिन्छ
त्यसपछि बज्छ
एकोहोरो शङ्खजस्तै साइरन
र त्यसपछि
शव-वाहनजस्तै गुड्छन
सेतो हात्तीका वाहनहरू !

सेतो हात्तीको यात्रामा
सिङ्गो सहर मौन धारण गर्छ
थुक्न प्रतिवन्ध लगाएको थुक
मुखमै जमाएर पोखरी झैं
प्रतिवन्ध फुकुवाको प्रतिक्षामा हुन्छन-
सर्वसाधारणहरू !

जति वेला
आकासमा हुन्छ सेतो हात्ती
त्यो समय आकास प्रतिवन्धित हुन्छ
जति वेला ऊ सडकमा हुन्छ
त्यो समय सडक प्रतिवन्धित हुन्छ !
नागरिकहरूलाई रैतीमा घटुवा गरेर
कर्फ्यु लगाइन्छ ओठहरूमा !

हामी आधा पेट खानेहरूले
गाँस काटेर पालेका छौं सेतो हाती
हामीले नै पालेको सेतो हात्ती भन्छ-
‘यो देश मेरो हो
यो सरकार मेरो हो
र तिमीले खाँदै गरेको आधा गाँस
हो त्यो गाँस पनि मेरो हो !’

सेतो हात्तीले कुन दिन
हाम्रो वाँकि गाँस पनि खोस्ने हो
र त्यसको भोलिपल्टबाट
भर्न नसकेपछि हात्तीलाई दाना
उसले रन्किदै भन्ने हो-
‘भोलिबाट ,
तिमीहरू नै तयार होऊ
मेरो दानाको निम्ति !’

सुनाउँन मात्रै मजा हुन्छ-
‘हामीले सेतो हात्ती पालेका छौं’
सेतो हात्ती पाल्नुको पीडा र भय
गोमन साँप पाल्नु भन्दा चरम छ !

प्रतिक्रियाहरु