सेक्रेटरी नेम्बाङलाई तत्काल रिहा गर्न माग

२०७६ भाद्र २६ गते, बिहीबार

काठमाडौं, २६ भदौ । नेपाल कम्युनिस्ट पार्टीले पाँचथर जिल्ला सेक्रेटरी विजय नेम्बाङलाई तत्काल रिहा गर्न माग गरेको छ ।
सो पार्टीका ब्युरो इन्चार्ज अनुले विज्ञप्ति जारी गर्दै पाँचथर जिल्ला सेक्रेटरी विजय नेम्बाङलाई प्रहरीले डकैती शैलीमा गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेकी हुन् । उनले विज्ञप्तिमा भनेकी छिन्, ‘केपी/पीके नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारका प्रहरी र क्रान्तिविरोधी गतिविधि गरिरहेका केही सुराकीहरूले हाम्रो पार्टीका मेची–कोसीब्युरो सदस्य एवम् पाँचथर जिल्ला सेक्रेटरी क. विजय नेम्बाङलाई यही भदौ २४ गते मङ्गलबार सङ्गठनात्मक कामका क्रममा रहेको बेला आफ्नै कार्यक्षेत्र पाँचथर जिल्लाबाट डकैत शैलीमा गिरफ्तार गरेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’
अनुले विज्ञप्तिमा भनेकी छिन्, ‘हाम्रो पार्टी दलाल पुँजीवादी सामाजिक फासिवादी सत्ताका विरुद्ध सङ्घर्षरत रहेको छ । निश्चय नै यो वर्गसङ्घर्षको प्रक्रियामा आम उत्पीडित वर्ग समुदाय र सचेत नागरिकहरूको तप्काले वर्तमान दलाल सत्ताविरुद्ध भीषण आन्दोलनको प्रक्रियामा सहभागिता जनाउने छन् । त्यसो हुँदा यो आन्दोलन नेपालका सेना, प्रहरीहरूको पनि र राज्यको लुटको सिकार भइरहेका सबै नागरिक र देशभक्त नेपालीहरूको साझा विषय हो । यसमा सबै उत्पीडित र उपेक्षितहरूको अपनत्व सुरक्षित हुनेछ भन्ने विषय सुस्पष्ट छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘निश्चयनै वर्गसङ्घर्षको प्रक्रियामा दलाल र भ्रष्टहरूको लुटको संसार जोगाउन मद्दत गर्नलाई आफ्नो निश्चित स्वार्थ पूरा गर्नलाई छट्पटिएका केही क्रान्ति विरोधीहरूको झुण्ड तयार हुन्छ र उनीहरू सत्ताको मतियारी गर्न पुग्छन् । आफ्नो वर्ग, क्रान्तिको प्रक्रिया, बलिदानीको मूल्य एकाएक बिर्सिएर दुस्मनको चाकडी गर्दै क्रान्तिकारीहरूको हत्या गराउने, गिरफ्तारी गराउने षड्यन्त्रको नेतृत्व गर्न पुग्छन् । यो हिजो जनयुद्धमा पनि थियो । आज पनि यो प्रवृत्ति मौलाइरहेको छ । यसले क्रान्तिको दायरालाई घटाउने होइन, थप फराकिलो बनाएर लैजाने छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘एकीकृत जनक्रान्तिको प्रक्रिया विशिष्ट गतिमा बढिरहेको सन्दर्भ छ र सत्ता सङ्कटको समाधान हामीले दिएको वैज्ञानिक समाजवादी सत्तामार्फत मात्र सम्भव छ भन्ने कुरा स्पष्ट छ । यस्तो परिवेशमा दलाल सत्ता आफ्नो सङ्कट र असफलतालाई ढाकछोप गर्न दमनमा उत्रिएको छ । सत्ताको मतियारीमा लागेका क्रान्तिविरोधीहरू र सरकारका केही आपराधिक प्रहरीहरूको गिरोहको साँठगाँठमा पार्टीविरुद्ध जेजस्तो खालका आपराधिक षड्यन्त्रहरू सुरु भएका छन्, त्यस्ता तत्वलाई क्रान्तिविरोधी गतिविधिमा नलाग्न र यही ढङ्गले अगाडि बढे अकल्पनीय परिणाम भोग्न तयार रहन गम्भीर चेतावनी दिन चाहन्छौँ ।’
अनुको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘गिरफ्तार क. विजय नेम्बाङलगायत सम्पूर्ण बन्दी साथीहरूलाई बिनासर्त अविलम्ब रिहा गरियोस् । अन्यथा जनप्रतिरोध सङ्घर्षलाई तीव्रता दिइनेछ जसबाट उत्पन्न हुने परिणामप्रति केपी/पीके प्रशासन नै जबाफदेही हुनुपर्ने छ ।’

प्रतिक्रियाहरु