सेक्रेटरी गुरुङलाई बिना शर्त रिहा गर्न माग

२०७६ आश्विन २ गते, बिहीबार

काठमाडौं , २ असोज । नेपाल कम्युनिस्ट पार्टीले बिनाकारण अपहरण शैलीमा गिरफ्तार गरिएका धादिङका जिल्ला सेक्रेटरी बुद्ध गुरुङलाई तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीको उपत्यका विशेष व्युरोले धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङलाई भदौं ३१ गते विहान पार्टी कामको सिलसिलामा काठमाडौँ आउँदै गरेको बेला बिनाकारण अपहरण शैलीमा धादिङको पिपला मोडबाट गिरफ्तार गरेकोप्रति घोर भत्र्सना एवंम निन्दा गरेको छ । उपत्यका विशेष व्युरो तथा धादिङ जिल्ला इन्चार्ज हितमानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै वैज्ञानिक समाजवाद प्राप्त गर्न हामीहरुलाई तपाईहरुको हत्या, हिंसा, दमन, गिरफ्तारी, जेल, नेल कुनै चिजले रोक्न सक्दैन । हामी स्पष्ट छौं । क्रान्तिको मूल्य बलिदान हो । तसर्थ क्रान्तिकारीहरुका विरुद्धमा यस्ता हर्कतहरु बन्द गर्न सरकारसँग जोडदार माग गर्दै गिरफ्तार परेका सेक्रेटरी बुद्ध गुरुङलगायत पार्टीका सम्पूर्ण नेता, तथा कार्यकर्तालाई बिना शर्त रिहा नगरे क्रान्तिले सबै कुराको छिनोफानो आफ्नै तरिकाले गर्ने चेतावनी दिएका छन् ।
उपत्यका विशेष व्युरो इन्चार्ज हितमानले विज्ञप्तिमा भनेका छन्, ‘मिति २०७६ भाद्र ३१ गते विहान पार्टी कामको सिलसिलामा काठमाडौँ आउँदै गरेको बेला हाम्रो पार्टीका धादिङ जिल्ला सेक्रेटरी क. बुद्ध गुरुङलाई केपी सरकारको पुलिस प्रशासनले बिनाकारण अपहरण शैलीमा धादिङको पिपला मोडबाट गिरफ्तार गरिएको छ । हाम्रो पार्टीले अवलम्बन गरेको सच्चा समाजवादी साम्यवादी विचार, राजनीतिबाट भयभित र आतंकित वर्तमान कम्युनिस्ट नामधारी दलाल सरकार र संसदीय व्यवस्थाको संकट हत्या, हिंसा, बलात्कार, गिरफ्तार, यातना, जेलनेल र झूट्ठा मुद्दाको खेती गरेर समाधान नहुने कुरा स्पष्ट नै छ । के.पी. प्रचण्डहरुलाई थाहा होला नै विश्वमा फासीवादको अभ्यास अध्यास कहीं सफल भएको छैन र नेपालमा पनि सम्भव छैन । तसर्थ हामी चुनौति दिन चाहन्छौं । तपाईहरु सच्चा माक्र्सवाद मान्नुहुन्छ भने माक्र्सवादले त जनताको सच्चा व्यवस्था वैज्ञानिक समाजवादलाई मान्छ । तपाईहरुसँग हिम्मत छ ? नढाँटी जनतालाई भन्नुहोस् हामी साम्राज्यवादको सेवा चाकडीमा छौं भनेर । इतिहासमा दुनियामा सच्चा कम्युनिस्टहरु कम्युनिस्टकै विरुद्धमा हत्या, दमनमा उत्रेको कहीं भेटिंदैन । तर तपाईहरु नेपालमा हाम्रो पार्टी क्रान्ति र नेपाली जनताको विरुद्धमा जे हर्कत गरिरहनु भएको छ यो तपाईहरुको आफ्नो इच्छा भन्दा पनि विश्व साम्राज्यवाद तथा विश्व पुँजीवादको इच्छा अनुकूल सेवा गरिरहनु भएको छ ।’

इन्चार्ज हितमानले विज्ञप्तिमाको अन्त्यमा भनेका छन्, ‘तपाईहरुले नेपालमा क्रान्ति सिध्यायौं भनेर सोच्नुभएको थियोे । तपाईहरुका मालिक पनि खुशी भए होलान् । तर तपाईहरुले सोचेजस्तो भएन । वैज्ञानिक समाजवाद प्राप्त गर्न हामीहरुलाई तपाईहरुको हत्या, हिंसा, दमन, गिरफ्तारी, जेल, नेल कुनै चिजले रोक्न सक्दैन । हामी स्पष्ट छौं । क्रान्तिको मूल्य वलिदान हो । यसर्थ हिङ नभएपनि हिङ बाँधेको टालो तपाईहरुसँग बाँकी छ भने क्रान्तिकारीहरुका विरुद्धमा यस्ता हर्कतहरु बन्द गर्न हामी सरकारसँग माग गर्दछौँ । र गिरफ्तार गरिनुभएका क.बुद्ध गुरुङ लगायत पार्टीका सम्पूर्ण नेता, तथा कार्यकर्तालाई बिना शर्त रिहा गर्न जोडदार माग गर्दछौं । अन्यथा क्रान्तिले सबै कुराको छिनोफानो आफ्नै तरिकाले गर्नेछ । ’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु