सुकुम्वासीमाथिको ज्यादतीविरुद्ध माओवादी सडकमा

२०७३ श्रावण ९ गते, आईतवार

काठमाडौँ । सर्लाहीको सुकुम्वासीमाथि सरकारले गत असार २१ गते बर्बर दमन गरेको विरोधमा नेकपा माओवादीले भोलि साउन १० गते नेपाल बन्दको घोषणा गरेको छ । सरकारले गत असार २१ गते सर्लाहीको सागरनाथ, सुकेपोखरी, ढुंग्रेखोला, धरहरालगायत स्थानमा अढाई वर्षदेखि बसोबास गर्दै आइरहेका सुकुम्वासीमाथि एक्कासि बर्बर दमन गरेको थियो । दमनमा खटिएका सशस्त्र र जनपथका सयौं सुरक्षा फौजद्वारा ट्याक्टर लगाएर मकै, धान, उखु बाली नष्ट गर्नुका साथै सुकुम्वासीमाथि गोली प्रहार गरेर दर्जनौं घाइते बनाइएको थियो । सोही क्रममा सुकुम्वासी संजीवन बम्जनको आँखा फुटेको छ भने सयौं सुकुम्वासी महिला, वृद्धा, बालबालिका घाइते छन् । सागरनाथमा हाल करिब ५ हजार सुकुम्वासी बसोबास गर्दै आइरहेका छन् । हिमाल, पहाड र तराईबाट गएका बाढीपहिरो तथा द्वन्द्वपीडितहरु त्यहाँ पुगेका हुन् । उनीहरुलाई सरकारले नै ०६६ सालबाट औपचारिक रुपमा निर्णय गरी त्यहाँ राखेको थियो ।
यसैबीच, सरकारले सुकुम्वासीमाथि बर्बर दमन गरेकोमा माओवादीका प्रवक्ता प्रकाण्डले तिब्र असन्तुस्टी ब्यक्त गरेका छन् । सरकारले सुकुम्वासीमाथिको बर्बर दमन तुरुन्त बन्द नगरे माओवादीले त्यसको निर्मम प्रतिवाद गर्ने प्रवक्ता प्रकाण्डले बताए । उनले पत्रकारहरुलाई राज्यको बर्बर दमनको रुप हेर्न सागरनाथ बस्तीमा पुग्न समेत आग्रह गरे । ‘तपाई पत्रकार मित्रहरु एकचोटी सर्लाहीको सागरनाथ पुग्नु जरुरी छ । आफना सुकुम्वासी जनतालाई सरकारले कस्तो व्यवहार गरेको छ ? त्यो त्यहा पुग्नेलाई स्पष्ट हुन्छ’ प्रवक्ता प्रकाण्डले भने । यसैगरी उनले घटनाको वास्तविक तथ्य बाहिर ल्याउन पनि पत्रकारहरुसँग आग्रह गरेका छन् । ‘बाहिरबाट हेर्दा सरकारले केही नगरेको जस्तो देखाइएको छ । तर घटना राज्यले निर्मम बनाएको छ । त्यो दृष्य त्यहाँ पुगेर मात्र थाहा हुन्छ’ उनको भनाई छ । साथै उनले घाइतेको तुरुन्त निःशुल्क उपचार गर्न, नष्ट गरिएको धान, मकै, उखु र क्षतिग्रस्त भौतिक सम्पत्तिको क्षतिपूति दिन सरकारसँग माग गरेका छन् । सरकारको यही ज्यादातिको विरोधमा भोलि १० गते माओवादीले नेपाल बन्दको घोषणा गरेको उनको भनाइ छ ।
यसै बिषयमा नेकपा माओवादीका महासचिव विप्लवले एक अपिल जारी गर्दै सर्लाहीको सुकुम्वासीमाथि सरकारले असार २१ गते बर्बर दमन गरेकोले बाध्यताबस फेरि एक पटक नेपाल बन्द गर्नु पर्ने भएको बताएका छन् । यस बिषयमा महासचिव विप्लवले जारी गरेको अपिलको पूर्ण पाठ यस प्रकार रहेको छ– “आरदणीय जनसमुदाय, हाम्रो पार्टीले बाध्यताबस फेरि एक पटक नेपाल बन्द गर्नु पर्ने भएको छ । सरकारमा को बस्ने र को हट्ने भन्ने संसदीय फोहोरी खेलमा मुख्य संसदीय दलहरु विगतमा झैं अहिले फेरि मरिहत्ते गरिरहेका छन् । यो खेलमा यहाँका शक्ति मात्र नभएर प्रत्यक्ष र परोक्ष रुपमा विदेशी शक्तिहरुको ठूलै चलखेल छ । उनीहरुको यो फोहोर खेलप्रति नेपाली जनताको चासो पनि छैन । सरकारको विषयलाई लिएर ‘हड्डीका लागि कुकरको ङ्यार–ङयार’ गरेका यी पार्टीहरु जनतामाथि दमन गर्न भने एक भएका छन् ।
त्यसैको दृष्टान्त असार २१ गतेको सर्लाहीका सुकुम्वासीमाथिको दमन हो । असार २१ गते सागरनाथ, ढुंग्रेखोला–८, धरहरामा अवस्थित सागरनाथ वन परियोजनाको जमिनमा गत २०५० सालदेखि बसोबास गर्दै आइरहेका सुुकुम्वासी बस्तीमाथि राज्यसत्ताको सुरक्षा फौजले भीषण दमन गरेको छ । त्यहाँ रहेको २५ सय हेक्टर सरकारी जमिन २०३५ सालदेखि सागरनाथ वन विकास परियोजनाले हडपेको र उक्त जमिनका राम्रा रुखहरु टिम्बर कर्पोरेसन अफ नेपालले काटेर बेची चरम भ्रष्टाचार गरेको कुरा सार्वजनिक भइसकेको छ । यसरी रुख काटिएको जमिनमा टाँकिया खेती गर्ने योजना भए पनि उक्त वन विकास परियोजनाले बेवास्ता गरेपछि त्यहाँका जनताद्वारा टाँकिया संघर्ष समिति बनाइएको थियो । यही क्रममा २०५० सालदेखि देशका विभिन्न ठाउँबाट आएका बाढी पहिरोपीडित भूमिहीनहरु बस्दै आएका थिए । यही प्रक्रियामा २०६६ साल चैत्र २७ र २८ गते त्यहाँ बसोबास गर्दै आइरहेका सुकुम्वासी, परियोजनाका प्रमुख जीवनकुमार ठाकुर, सरकारका उपसचिवद्वय तीर्थराज चन्द र विनोदकृष्ण मानन्धरलगायतका सुकुम्वासी नेता कुमार पौडेल, ज्ञानबहादुर तामाङ, भगवान मैनालीसहितको त्रिपक्षीय वार्ता गरी वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्ने, टाँकिया बस्ती निर्माण गर्ने, परियोजनामा आर्थिक रुपले विपन्नहरुको जीविकोपार्जनको व्यवस्था गर्ने, जनसहभागितमा र लाभांश बाँडफाँड गर्ने र क्षतिपूर्तिको व्यवस्था गर्ने ५ बुँदे लिखित सहमति भएको थियो । यही सहमति बमोजिम त्यहाँ लगभग ४ हजार सुकुम्वासीहरुले यहाँको जमिन भोगचलन गर्दै आइरहेका थिए ।
अहिले उक्त सहमतिको पूर्ण रुपमा उल्लंघन गर्दै कुनै पूर्व जानकारीबिना सरकारले असार २१ गतेका दिन एक्कासी दमन गरेको छ । दमनका क्रममा सयौं सशस्त्र र जनपथ प्रहरी परिचालन गरियो । सयौं राण्ड अश्रु ग्यास र गोली चलायो । गोली लागी ३६ जना सुकुम्वासी गम्भीर अवस्थामा छन् । यी घाइतेमध्ये संजीव बम्जनको आँखा गुमेको छ । उनको टाउकोबाट लामो समयको शल्यक्रियापछि केही गोली निकालिएको छ । न्यायप्रेमी जनसमुदाय, जनदमनमा परिचालित सुरक्षा फौजले २१ जना महिलाहरुसहित ३१ जनालाई गिरफ्तार गरी सुरक्षा क्याम्पमा राखी घण्टौंसम्म चरम यातना दिएर मात्र छाडिएको छ । अहिलेका मुसलधारे वर्षामा सुकुम्वासीका ३५ घर तोडफोड गरी पूर्ण रुपमा क्षति गरिइको छ । ६ वटा मोटरसाइकल कामै नलाग्ने गरी तोडफोड गरिएको छ । जनतालाई मात्र सुरक्षा फौजले नभई गाई, भैंसीमाथि समेत आक्रमण गरेको घटनाले सरकारी क्रुरताको परकाष्ठा झल्काएको छ ।
सुकुम्वासीका प्रिय नेताएवं पार्टीका जिल्ला सचिव कुमार पौडेललगायत दर्जनौंलाई वारेन्ट जारी गरिएको छ । सुकुम्वासीले लगाएको १२ बिगाह जमिनको ऊखु, धान, मकै बाली ट्याक्टर र डोजर लगाएर पूर्ण रुपले नष्ट गरिएको छ । यो नृशंस दमनका ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संलग्नता देखिनु निन्दनीय छ ।
सर्लाहीमा सरकारले गरेको दमनलाई आधार बनाएर देशका विभिन्न स्थानमा बस्दै आएका सुकुम्वासीलाई उठीबास लगाउँदैछ । जाजरकोटको सुकुम्वासी बस्तीमा गरिएको दमनका कारण त्यहाँका सयौं जनताले कयौं दिनसम्म ओढारमा बिताउन बाध्य भएका छन् । मोरङ, कास्की, काठमाडौँ, बाँके, चितवनलगायतका जिल्लामा रहेका सुकुम्वासी बस्तीमाथि दमन गरिएको छ । विगतमा कैलालीको डुँडेझारीमा गोली चलाएर हत्या गरिएका कुरा सर्वविदितै छ । सर्लाहीलगायतका स्थानमा चलाइएका नरसंहारकारी र दमनपूर्ण कदमलाई राज्यद्वारा अझ कडा बनाइरहेको र सरकारले पूर्ण रुपले बेवास्ता गरेपछि सुकुम्वासीको संरक्षण, सुरक्षा र अधिकारका लागि हाम्रो पार्टीले चरणवद्ध आन्दोलनका कार्यक्रमसहित नेपाल बन्दको आयोजना गर्न बाध्य भएका छौं ।
नेकपा माओवादी सर्लाही जिल्ला लगायतका स्थानहरुका रहेका सुकुम्वासीहरुमाथि भइरहेको दमनलाई तुरुन्त बन्द गर्न, उनीहरुको उचित व्यवस्थापन गर्न, घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न र पीडितलाई उचित क्षतिपूर्ति उप्लब्ध गराउन जोडदार माग गर्दछ । अन्यथा, हाम्रो पार्टी सुकुम्वासीले उठाउँदै आएका जायज मागको समर्थन गर्दै दमनका विरुद्धमा अझ बी कडा आन्दोलन गर्न बाध्य हुनेछ । यसबाट निस्कने परिणामको भागीदारी स्वम् सरकार नै हुनेछ । गत वर्ष बैशाख १२ मा गएको भूकम्पबाट पीडित जनताले यस वर्षको वर्षायाममा राज्यको गलत नीति र जनविरोधी चरित्रका कारण खुल्ला आकाशमुनि जीवन गुजार्नु परिरहेकै छ । भ्रष्टाचार, कालोबजारी, घुसखोरी लामो समयसम्मको भारतीय नाकाबन्दीका कारण नेपाली जनताले चर्को मंहगी र चरम अभाव भोग्न बाध्य छन् । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त अधिकार खोसिँदै गएका छन् । राष्ट्रियता र सार्वभौमिकता जोखिममा परेको छ । सुकुम्वासीमाथि भएको नृशंस दमन, राष्ट्रिय स्वाधीनता र जनजीविकाको पक्षमा एवं विद्यमान प्रतिक्रियावादी र दलाल सत्ताका विरुद्ध प्रतिरोध गर्न यही साउन १० गतेका दिन आयोजित नेपाल बन्दमा विगतमा झैं सबै किसान, मजदुर, देशभक्त, बुद्धिजीवि, राष्ट्रिय पुँजीपतिद्वारा सहयोग, समर्थन र ऐक्यवद्धताको अपेक्षा राखेका छौं । सहयोगका लागि धन्यवाद ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु