सुलेमानीको अन्त्येष्टिमा लाखौं सहभागी

२०७६ पुष २२ गते, मंगलवार

काठमाडौं , २२ पुष । इरानका उच्च सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अन्तिम बिदाईमा लाखौँ मानिस सहभागी भएका छन् । सुलेमानीको अमेरिकाले इराकमा गरेको हवाई आक्रमणमा परी मृत्यु भएको थियो । इरानको राजधानी तेहरानमा सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीको नेतृत्वमा भएको अन्तिम बिदाई प्रार्थनासँगै भएको इरानको विशेष सैन्य दस्ता कुद्स फोर्सका प्रमुख मेजर जनरलको शव यात्रामा लाखौँ मानिस सहभागी भएका हुन् । इरानले सुलेमानीको हत्याको ‘कठोर बदला’ लिने बताएको छ । इरानले आइतबार सन् २०१५ मा भएको परमाणु सम्झौताबाट पूर्ण रुपमा बाहिरिएको घोषणा पनि गरेका थियो । ६२ वर्षका सुलेमानीको नेतृत्वमा मध्य पूर्वमा इरानको प्रभाव बलियो बन्दै गएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकाले गएको शुक्रबार गरेको हवाई आक्रमणमा इराकको राजधानी बग्दादस्थित विमानस्थलबाट बाहिरिँदै गरेका सुलेमानीको मृत्यु भएको हो ।
अमेरिकाले उनलाई आतंककारीको रुपमा लिने गरेको थियो । तर इरानमा भने सुलेमानीलाई राष्ट्रिय नायकका रुपमा ग्रहण गरिन्छ । उनलाई सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीपछिका दोस्रो प्रभावशाली व्यक्तिका रुपमा लिने गरिएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु