सुरु भयो राष्ट्रसंघीय महासभा

२०७४ आश्विन ४ गते, बुधबार

काठमाडौं, असोज ४ । तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डी रुजबेल्ट र ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिलले दोस्रो विश्वयुद्ध चलिरहेकै बेला कल्पना गरेको संयुक्त राष्ट्रसंघका चार खास उद्देश्य थिए । ती चार उद्देश्य थिए–दोस्रो विश्वयुद्धबाट क्षतविक्षत भएको विश्वको भौतिक र मानसिक पुनःनिर्माण गर्ने, विश्वका सबै देशहरुबीच दोस्रो विश्वयुद्धका समयमा कोरिएको शत्रुताको रेखा मेटाएर शान्ति र सद्भाव कायम गर्ने, समृद्ध र समुन्नत विश्व बनाउने र सम्भावित अर्काे विश्वयुद्धको सम्भावनालाई जन्मिनै नदिने ।
उनीहरुको यो परिकल्पनाबाट सन् १९४५ को अक्टोबर २४ मा विश्व संस्था (वर्ल्ड वडी)कारुपमा जन्मिएको संयुक्त राष्ट्रसंघले यी उद्देश्य पूरागर्न शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तहरुको मस्यौदा गरिरहेकै बखत यता विश्वका ठूला शक्तिहरुकाबीच ‘कोल्ड वार’ शीतयुद्धको गर्भाधान पनि हुँदै थियो ।
सम्भवतः त्यही शीतयुद्धको बढ्दो उष्णरुप हो यो, जसले आजका दिनसम्म आइपुग्दा आणविक हतियारको उत्पादनमात्र गरेन, परीक्षणका नाममा कोरियाली प्रायद्वीपमा ६ म्याग्निच्यूडभन्दा बढीको भूकम्प नै ल्याइरहेको छ । तर, आजभन्दा सात दशकअघिको उनीहरुको यो परिकल्पनाबमोजिम विश्व शान्ति, भाइचारा र सहअस्तित्व निर्माणमा संयुक्त राष्ट्रसंघ सफल हुन सकिरहेको छैन । आज विश्वमा विश्वयुद्ध त छैन । तर, त्योभन्दा झन् ठूलो ‘युद्ध’ छ । संयुक्त राष्ट्रसंघले परिकल्पना गरेजस्तो आणविक हतियारबिनाको विश्व छैन र उत्तर कोरियातिर आणविक शस्त्र प्रदर्शनको होडमा हाइड्रोजन बम नै परीक्षण सुरु भएको छ । यता, इराक, अफगानिस्तान, सिरियामा जारी हिंसाको झन् कुरै नगरौं । लिबियाका शासक कर्णेल गद्दाफी यस्तै युद्धबाटै मारिए भने उता सिरियामा गएको पाँच वर्षमा झन्डै चार लाखको ज्यान गृहयुद्ध नामको निहुँबाटै गएको छ ।
हिंसाका नयाँ–नयाँ रुपहरु विश्वका विभिन्न भूगोलबाट उदाउँदा छन् । पछिल्लो समय म्यानमारका कम्तीमा पाँच लाख मुस्लिम समुदायले बडो कस्टपूर्ण जीवनयापनको सुरुआत नाफ नदीको बंगलादेशतर्फको किनारबाट सुरु गर्दैछन् । यसले अबका दिनमा अर्काे कस्तो रुप लिने हो त्यसको अनुमान अहिल्यै गर्दा चाँडै हुनेछ ।
यी सबै युद्ध हुन् । तर, विश्वयुद्ध होइन । विश्वयुद्धको अन्त्य सन् १९४५ को अगष्ट ९ मा नागासाकीमा अमेरिकाले बम हानेसँगै भएको हो । त्यसको तीन दिनअघि जापानकै हिरोसिमासमेतमा भएको बम हमलाबाट करिब साढे तीन लाख नागरिकको ज्यान गएको थियो ।
भौतिक क्षतिको कुरा गर्दा ती दुई सहरको पूरै संरचना नै ध्वस्त थिए भन्दा हुन्छ । यो त्यस समयसम्मको सबैभन्दा ठूलो नरसंहार थियो । यस्तै नरसंहार रोक्नकै लागि संयुक्त राष्ट्रसंघ नामको यो विश्व संस्थाको जन्म भएको हो र यसको नामाकरण पनि रुजबेल्टले नै गरेका थिए ।
यस संस्थाले भाषामा कामना गरेजस्तै तेस्रो विश्वयुद्ध त भएको छैन तर दोस्रो विश्वमा ज्यान गुमाएका मानिसभन्दा बढी मानिस त सिरियामा चार वर्षमै मारिइसकेका छन्, गृहयुद्धका नामबाट ।
इराक, अफगानिस्तान, पाकिस्तानमा अहिले पनि कुन दिन कहाँ कतिजना मरे भनेर विज्ञप्ति प्रकाशन गर्ने काम जारी छ । केही वर्षअघिसम्म योक्रम लिबिया, इजिप्टलगायतमा थियो । वर्षेनि संसारका लाखौं नागरिक विस्थापित छन, लाखौं शरणार्थी बन्दैछन् देशभित्र र बाहिर । यसरी हेर्दा विश्वयुद्धकोभन्दा कम्ती विकराल रुप यहाँ छैन र त्यस समयकोजस्तै शीतयुद्ध अहिले पनि देशहरुबीच भित्रभित्रै भुसको आगोझैं सल्किरहेकै छ ।
राष्ट्रसंघका विगत कैयौं वर्षयताका महासभाहरुमा एजेन्डा शान्तिकै छ । विश्वमा शान्तिको स्थापना महासभाको पहिलो एजेन्डा बन्दै गएको छ ।
तर, एकातर्फ राष्ट्रसंघले यो एजेन्डामा छलफल गरिरहेको हुन्छ, अर्काेतर्फ आतंकवादका जराहरु विश्वव्यापीरुपमा विभिन्न नाम र रुपले फैलिँदो छ । यसले पछिल्लो समयमा युरोप प्रवेश गरेको छ ।
यता, महासभाको सुरुआतको तयारी भइरहँदा लन्डनको रेलसेवामा यसले हमला गर्नसमेत भ्याएको छ । यही आतंकवादको सार र रुपसँग लड्ने एजेन्डाहरुमै गएका केही वर्षयता कैयन् शब्द राष्ट्रसंघीय महासभाले खर्चिएको छ । तर, सोमबारदेखि न्यूयोर्कमा सुरु भएको ७२औं महासभाको तात्तातो विषय बनेको छ, उत्तर कोरियाको आणविक परीक्षण । सायद यस महासभाको सबैको मुख्य चासो नै यही बन्नेछ । यसको संकेत उद्घाटन भाषण दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिले थोरै–धेरै गरिनैसकेको छ । उनले उत्तर कोरियाले यसरी नै संसारसामु निहुँ खोज्ने हो भने उसलाई ध्वस्त पार्नुबाहेकको अर्काे विकल्प अमेरिकासँग नरहेको संकेत गरेका छन् । वास्तवमा उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय एवं अन्तर्राष्ट्रिय कानुनको नै नराम्रोसँग उल्लंघन गरेको छ ।
सन् २००६ देखि जारी राखेको उसको यो आणविक परीक्षणको कार्यले पछिल्लो समयमा विस्फोटक रुप लिइसकेको छ । सेप्टेम्बर ३ मा उसले हाइड्रोजन बम नै परीक्षण गरेर संसारमा त्रास फैलाइदिएको छ ।
त्यसपछि विश्व समुदायले यस्तो बम परीक्षणको औचित्य कुनैपनि हिसाबले पुष्टि हुन नसक्ने हुँदा यस्ता कार्य तुरुन्त बन्द गर्न चेतावनी दिइरहेको छ । तर, त्यसको विपरीत उसले क्षेप्यास्त्र परीक्षणको काम निरन्तर राखेकोमात्र नभइ करिब हप्ता दिनमात्रअघि उसले जापानको आकाशमै पर्नेगरी अर्काे आणविक परीक्षण गरेको थियो ।
यस परीक्षणले आणविक उर्जारहति विश्व निर्माण अभियानमा लागिरहेको र दोस्रो विश्वयुद्धमा आमनरसंहार व्यहोरेको जापानका लागि ठूलो चोट पुगेकोमात्र नभएर यसरी देशको सीमाको ख्यालै नगरी सुरु भएको शस्त्रको होडले संसारलाई फेरि युद्धको भुँमरीमा पार्ने त होइन भन्ने अर्काे त्रास थपिदिएको छ ।
यतिबेला संसारको र सम्भवतः यो महासभाको पनि केन्द्रविन्दुमा उत्तर कोरिया छ । त्यसमाथि खनिएका छन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।
जसरी अमेरिकी नीतिले राष्ट्रसंघका हरेक महासभामा चर्चा र स्थान पाउँथ्यो, त्यसैगरी यतिखेर पनि अमेरिकी राष्ट्रपतिको कोरियाप्रतिको नीतिले नै चर्चा पाउने निश्चित छ । त्यसो त उनको धारणा आइसक्यो, उत्तर कोरियामाथि सैन्यबाहेकको अर्काे कारबाही छैन भनेर । तरपनि यो अमेरिकी धारणामा चीन र रुस तथा अरु शक्तिशाली देशहरु कसरी मिसिन्छन् भनेर पनि हेर्नुपर्ने हुन्छ । संसार बाँडिएको छ । उत्तर कोरियामा पनि त्यस्तै छ । कतिपय शक्ति राष्ट्रहरुले उत्तर कोरियासँग सैन्य नभएर वार्ताको विकल्प खोज्नुपर्ने भन्दै आएका छन् । तर, यसप्रति अमेरिका सहमत छैन । तर, उसको असहमति जति व्यक्त हुँदैछ त्यति उत्तरले पनि आणविक परीक्षणहरुको मात्रा थप्दै गएको छ । उसले वार्ताको लवज अहिलेसम्म निकालेको छैन । त्यसैले पनि वार्ता हो या सैन्य कारबाही भन्नेबारेमा समग्र विश्वको नै एउटै धारणा हुनुपर्ने आशय उत्तरको देखिन्छ ।
सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा आतंककारी हमला भएपछि त्यसपछिका दशक संसारमा आतंकवादले राष्ट्रसंघीय महासभामा चर्चा पाएको थियो र यसविरुद्धका काम–कारबाही मुख्य एजेन्डा बनेको हो ।
त्यसपछिका केही वर्षहरु जलवायु परिवर्तन तथा सहस्राब्दी विकास लक्ष्यमा केन्द्रित भएपनि पछिल्ला वर्षहरुमा आतंकवाद युरोप प्रवेश गरेसँगै फेरि यसैको चर्चा सुरु भएको छ । यस एजेन्डालाई माथ गर्दै यसपटकको महासभामा आणविक शस्त्रास्त्रको होडलाई कम गर्न उत्तर कोरियामाथिको दबाबले बढी स्थान लिनसक्छ । जुन अहिलेको विश्वका लागि आवश्यक पनि छ । यसपटकको महासभाको एजेन्डा पनि ‘जनतामा केन्द्रित तथा शान्तिका लागि प्रयास र दीगो पृथ्वीका लागि मर्यादित जीवन’ भनेर नै राखिएको छ ।- एकराज पाठक (रासस)

प्रतिक्रियाहरु