सुबिसु क्यान इन्फोटेक सम्पन्न, ४ लाखद्वारा अवलोकन

२०७४ माघ १७ गते, बुधबार

काठमाडौँ , १७ माघ । सुबिसु क्यान इन्फोटेक २०१८ मंगलबार सम्पन्न भएको छ । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले क्यान महासंघले सन् १९९५ देखि प्रत्येक वर्ष गर्दै आएको क्यान इन्फोटेकको यो बर्षको २४औं संस्करण अवलोकनकर्ताको अत्यन्त उत्साहजनक सहभागिता सहित सम्पन्न भएको छ । ६ दिनसम्म चलेको प्रदर्शनीको अन्तिम दिन मंगलबारसमेत अवलोकनकर्ताहरुको उत्तिकै उत्साह र सहभागिता रहेको थियो । मंगलबारमात्रै ९४,३२६ जनाले इन्फोटेकको अवलोकन गरेका थिए । यस वर्ष कुल ३,७६,२४३ जनाले इन्फोटेकको अवलोकन गरेका छन ।
इन्फोटेकमा उच्चपदस्थ अधिकारहीहरु, राजनीतिक दलका नेताहरु, कलाकार, नीति निर्मातालगायत बालकदेखि बृद्धसम्मका सूचना प्रविधिप्रेमी सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको पाइएको छ ।
२४औं संस्करणको इन्फोटेकमार्फत् नेपालमा थुप्रै नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । जसको बारेमा इन्फोटेकमार्फत आम नेपालीले प्रत्यक्ष जानकारी लिने अवसर मिलेको छ । प्रदर्शनीमा स्मार्ट होम प्रविधि, हेल्थ एनालाइजर सिस्टम, प्रिन्टर, प्रोजेक्टर, बारकोड स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, स्मार्टफोन, स्मार्ट टिभी, मोबाइल वालेट, हाइस्पिड इन्टरनेट, डिजिटल टिभी, सेटअप बक्स, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेल्थ क्येयरसम्बन्धी डिजिटल प्रडक्ट, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित बिशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, सेल्फी स्टिक लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो । त्यस्तै नेपाली विद्यार्थी, स्टार्टअप र रोबोटिक्स क्लबहरुले निर्माण गरेका इन्नोभेटिभ प्रडक्टहरुले पनि विद्यार्थी र युवाको मन लोभ्यायो ।
इन्फोटेकमा मोटोरोला, हुवावे, एमआई, वान प्लस, एचटिसी, डिटिसी जस्ता मोबाइल ब्रान्डको स्टलमा अवलोकनकर्ताको चासो देखियो । वल्र्डलिंक र एक्सन प्वइन्ट नेपालले ल्याएको स्मार्ट होम प्रविधिबारे जान्न इच्छुकहरुको संख्या पनि उत्तिकै देखियो । हाइसेन्स, सोनी, टेक्नोजका फोके स्मार्ट टिभीले पनि नेपाली उपभोक्ताको लोभ्याएको थियो ।
यसपटक सुबिसु, वल्र्डलिंक लगायतका आइएसपीले ल्याएको डिजिटल टिभी र हाइस्पिड इन्टरनेटको कोम्बो अफरले अवलोकनकर्ताको ध्यान तानेको थियो भने डिजिकम, नेटिस, टिपिलिंकलगायतले ल्याएका आधुनिक नेटवर्किङ प्रडक्टहरु पनि आकर्षको केन्द्रमा प¥यो । यसपटक ब्रोडवे इन्फोसिस, कम्प्युटर प्वइन्ट नेपाल, लावा नेपाल, जेडकिङ, लिमिटलेस एजुकेशन, इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड टेक्नोलोजी नेपाल लगायतले ल्याएका आइटीका व्यवसायिक कोर्श पढ्न चाहने विद्यार्थीहरुको संख्या पनि बढेको देखियो । त्यस्तै सामाजिक सञ्जाल सगुनको मोबाइल एपले पनि राम्रै प्रयोगकर्ता बटुल्यो । यता नेपाली सफ्टवेयर कम्पनीहरुका लागि छुट्टै प्याभिलियन व्यवस्था गरिएको थियो । नेपालमै सफ्टवेयर, सोलुसन्स र सर्भिसेसको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको पनि इन्फोटेकमा उपस्थिति रहेकाले हामीलाई थप हौसला मिलेको छ । कम्पनीहरुले ल्याएका शिक्षा, स्वास्थ्य, अस्पताल, कार्यालय व्यवस्थापन, लेखा, बैंक तथा वित्तीय क्षेत्रका लागि ल्याएका सफ्टवेयरहरुको प्रवद्र्धन गर्न पनि यस इन्फोटेकले भूमिका खेलेको छ ।
क्यान इन्फोटेकको यस २४औं संस्करणको शर्ष प्रायोजन सुबिसु केबलनेट र एशोसिएट स्पोन्सर मोटोरोला रहेका थिए । त्यस्तै प्लाटिनम स्पोन्सर– वल्र्डलिंक कम्युनिकेसन, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम र टि.पी. लिंक गोल्ड स्पोन्सरहरु– हुवावे, एमआई स्मार्टफोन र टेक्नो मोबाईल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस स्मार्ट टिभी रहेका थिए भने प्रिन्ट स्पोन्सरमा हाइसेन्स टिभी रहेको थियो ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आइसीटी कलेज तथा ट्रेनिङ्ग इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी १५० भन्दा बढी कम्पनीका २ सय २२ स्टल रहेका थिए ।

प्रतिक्रियाहरु