सुन तस्करी प्रकरण : सिलवालसहित थप दुई पक्राउ

२०७५ जेष्ठ १२ गते, शनिबार

काठमाडौं, १२ जेठ । ३८ सय केजी सुन तस्करी गिरोहमा आबद्ध थप दुईजना पक्राउ परेका छन् । गृह मन्त्रालयको बिशेष छानबिन समितिले दुईजनालाई पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको छ । पक्राउ पर्नेहरुमा हुन्डी कारोबारी मदन सिलवाल र तस्करी समूहमा आबद्ध फाल्दुन भनिने लक्षु गुरुङ छन् । सिलवालले नयाँ बसपार्कमा मयुर मनि ट्रान्सफर सञ्चालन गर्दै आएका छन् । मनि ट्रान्सफरको आवरणमा उनले हुन्डीको कारोबार गर्दै आएको समितिले जनाएको छ । दुबईबाट तस्करी गरेर ल्याइने सुनको उनले हुन्डीमार्फत दुबईमा भुक्तानी दिन सघाउने गरेका थिए । त्यस्तै, पक्राउ परेका फाल्दुन भुजुङ गुरुङका चालक हुन् । भुजुङ यसअघि नै पक्राउ परि जेल चलान भइसकेका छन् । राप्रपा (प्रजातान्त्रिक) का नेता समेत रहेका भुजुङ पञ्चायतकालदेखि सुन तस्करीमा संलग्न व्यक्ति हुन् । सुन तस्करीको बेला फाल्दुनलाई पनि उनले प्रयोग गर्दथे । समितिसँगको बयानमा उनले सुन तस्करीको बेला आपूmलाई ‘स्कर्टिङ’ गर्न प्रयोग गरिने बताएका छन् । माघ ९ गते हराएको साढे ३३ किलो सुन लुटपाटमा पनि उनको संलग्नताको आशंका गरिएको छ । तर, करिब २ सातासम्म सोधपुछ गर्दा पनि हराएको सुनबारे प्रष्ट जानकारी समितिले पाउन सकेको छैन । उनलाई २ साताअघि नै पक्राउ गरी अनुसन्धानमा राखिएको थियो । मुद्दा चलाउनका लागि उनलाई शुक्रबार मोरङ पठाइएको हो । समितिले गत बैशाख सुन तस्करीको पैसा हुन्डीमार्फत पठाउने दोलखाका मोतीलाल श्रेष्ठ र झापाका बिनोद अधिकारीलाई पक्राउ गरिसकेको छ । उनीहरु जिल्ला प्रहरी कार्यालय मोरङकै हिरासतमा छन् । बिहिबार मोरङमा सनम शाक्य हत्यामा सघाउने रेवन्त आचार्य पक्राउ परेका थिए ।
समितिले सुन तस्करी प्रकरणका मुख्य पात्र चुणामणि उप्रेती ‘गोरे’ लाई मंगलबार पक्राउ गरी सार्वजनिक गरिसकेको छ । त्यसअघि ३२ जना पक्राउ परेका थिए । थप दुई जना पक्राउ परेसँगै सो मुद्दामा पक्राउ अभियुक्तको संख्या ३५ पुगेको छ । ३२ जनालाई फरार अभियुक्तका रुपमा मुद्दा चलाइएको छ । जसमध्ये मोहन अग्रवाल लगायत मुख्य व्यक्तिलाई पक्राउ गर्न इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार